सहकारी ठग बचाउन रास्वपाका नेता र सांसदहरूको प्रदर्शन, अनुसन्धानलाई प्रभावित बनाउने खेल

काठमाडौं । संसदीय समितिबाट सहकारी ठगीमा कारबाही सिफारिस भएपछि पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरिरहेका बेला अनुसन्धानलाई नै प्रभावित तुल्याउने गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता र सांसदहरू लागेका छन् ।

स्वर्णिम वाग्ले, मनीष झा, सन्तोष परियार, तोषिमा कार्की, सुमोना श्रेष्ठ लगायतको समूह पोखरामा अड्डा जमाएर बसेको छ । सहकारी ठगका आरोपी लामिछानेलाई बचाउन रास्वपाका कार्यकर्ता आउन कम भएपछि केन्द्रीय कार्यसमिति र सांसदहरूले पोखरामा दैनिक सरह प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले प्रहरीको अनुसन्धानलाई प्रभावित बनाउने गरेर अराजक गतिविधि गरिरहेका छन् । सहकारीको करोडौं रकम ठगी गरेको प्रतिवेदन र कारबाही सिफारिस भएपछि लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । लामिछानेमाथि संगठित अपराधमा पनि अनुसन्धान भइरहेको छ । संगठित अपराधमा फस्ने पक्का जस्तै भएपछि लामिछाने निकै डराएका छन् ।

लामिछानेलाई बचाउन रास्वपाका नेताहरूले अपील गरिरहेका छन् । तर, सहकारीका ठगलाई बचाउन मानिसहरू सडकमा आउन मानेका छैनन् । लामिछाने जस्तो विवादास्पद व्यक्तिका बारेमा धेरैले थाहा पाइसकेका छन् । लामिछानेलाई बचाउन अब कोही पनि आउँदैन ।

सुशासनको नारा लगाएर चोथो ठूलो दल बनेको रास्वपाका नेता र सांसदहरू सहकारी ठगका अभियुक्तलाई बचाउन सडकमा उत्रिएको देखेपछि धेरैले रुचाएका छैनन् ।

पूर्व गृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका बेला नेपाली कांग्रेसका नेता कार्यकर्ता बचाउन सडकमा उत्रिएनन् । कांग्रेसले अनुसन्धानमा सहयोग गरेको छ ।

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महरा पनि जेल बसेका थिए । महरालाई छुटाउन माओवादीका नेता कार्यकर्ता सडकमा आएनन् ।

एमालेका सांसद टोपबहादुर रायमाझी अझै पनि जेलभित्र छन् । रायमाझीलाई पनि एमालेले बचाउनुपर्छ भनेर सडकमा उत्रिएन् । अनुसन्धानमा एमालेले पनि सहयोग गरिरहेको छ ।

विगतमा पनि कैयन नेता जेल परेकै हुन् । तिनका पार्टी, आफन्ती, समर्थकले जुलश र प्रदर्शन गरेका थिएनन् ।

नयाँ भनाउँदा र सुशासन बलियो बनाउन आएका दलले कानून र न्यायमा विश्वास गर्ने हो । आफ्नो कमजोरी छैन भने कानूनमा टेकेर लड्ने हो । मान्छे जम्मा गरेर भड्काउने होइन । त्यो पनि पोखरा जस्तो पर्यटकीय शहरमा ।

पर्यटक मारामार हुने समयमा पोखरालाई अशान्त बनाउँदा यसको दीर्घकालीन असरको जिम्मा कसले लिन्छ ? रास्वपाका नेताहरूले यी सबै कार्यको जिम्मेवारी लिनुपर्छ ।

Published : Monday, 2024 October 21, 10:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया