प्रधानमन्त्री ओलीद्वारा रवि लामिछाने पक्राउ र अध्यादेशबारे स्पष्ट जवाफ दिए

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले कुनै प्रतिशोधको राजनीति नगर्ने बताएका छन् ।

सोमबार साँझ बालुवाटारमा विपक्षी दलहरूको मोर्चाको ज्ञापनपत्र बुझ्ने क्रममा ओलीले भने, ‘मलाई कुनै प्रतिशोधको राजनीति गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन ।’

‘मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ’, ओलीको भनाइ उद्धृत गर्दै प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले भने, ‘अरु दल र स्वयं रविजीले गठन गरौँ भनेपछि समिति गठन भयो ।’

प्रधानमन्त्री ओलीले भने, ‘समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।’

पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी प्रतिशोध हो ? भनेर विपक्षी मोर्चा प्रधानमन्त्री ओलीसँग प्रश्न गरेका थिए ।

विपक्षी मोर्चाका नेताहरूले ओलीलाई पूर्वाग्रह र तानाशाही भनेर लगाएको आरोपबारे पनि जवाफ दिएका छन् । ओलीले भने, ‘अहिले कतिपय ठाउँमा मलाई “तानाशाह” भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन ।’

‘मलाई कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरूले पनि त्यसो गर्नु राम्रो होइन’, प्रधानमन्त्री ओलीले भने ।

ओलीले भने, ‘मुख्य कुरा हामीले विधि र पद्धतिलाई मान्नुपर्छ र स्थापित गर्नुपर्छ, हामीलाई प्रतिगमन कुनै हालतमा स्वीकार्य छैन । लोकतान्त्रिक पद्धतिलाई छोड्न सकिँदैन ।’

विपक्षी मोर्चाका दलका नेताहरूले प्रधानमन्त्री ओलीसँग राजनीति दलसम्बन्धी अध्यादेशका बारेमा पनि जिज्ञासा राखेका थिए । ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला निराधार रहेको बताए ।

‘विगतमा नेकपा (एमाले)लाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरूलाई त्यसै गर्न लाग्यो की भन्ने परेको हुन सक्छ’, ओलीले भने, ‘तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन ।’

विपक्षी मोर्चाका दलका नेताहरूले विपद र राहतको विषयमा पनि प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘मनसुनजन्य विपदको घटनामा घाइते भएकाहरूको निःशुल्क उपचार भइरहेको छ ।’

‘बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । बेलीब्रिजहरूसमेत मगाएर राजमार्गहरूमा भएको अवरोध खुलाइएको छ’, ओलीले भने, ‘यस्ता विषयमा कुनै राजनीति नगरी मिलेर जान मेरो आग्रह छ ।’

Published : Tuesday, 2024 October 22, 9:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया