भारतीय दूतावासको सहयोगमा आँबुखैरेनी क्याम्पसको भवन निर्माण

दमौली । भारतीय राजदूतावासको आर्थिक सहयोगमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ मा आँबुखैरेनी क्याम्पस भवन निर्माण गरिएको छ ।

बिहीबार भवनको भारतीय राजदूतावासका प्रथम सचिव अविनाशकुमार सिंहले उद्घाटन गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानको पनि उद्घाटनमा उपस्थिति रहेको थियो ।

भारतीय दूतावासको २ करोड ७३ लाखको लागतमा क्याम्पसको भवन निर्माण गरिएको छ । क्याम्पस भवनका लागि फर्निचर खरिद गर्न दूतावासले २२ लाख सहयोग गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि केसीले बताएका छन् ।

विक्रम संवत् २०६९ फागुनमा निर्माण शुरु भएको भवन २०७२ मा निर्माण सम्पन्न भएको छ । दुईतले २४ कोठा भएको भवनमा स्नातक तहका विद्यार्थी अध्ययनरत छन् । नयाँ भवन निर्माणपछि पठनपाठनमा सहयोग पुगेको क्याम्पस प्रमुख बाबुराम देवकोटाले बताए ।

क्याम्पसमा तीन सय सात विद्यार्थी अध्ययनरत छन् । तीमध्ये ९० प्रतिशत छात्रा छन् । भारतीय दूतावासका प्रथम सचिव सिंहले भारतले नेपालको स्वास्थ्य, शिक्षा तथा पूर्वाधार निर्माणमा सहयोग गर्दै आएको र सहयोगलाई निरन्तरता दिने बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले नेपालका लागि भारतीय सरकारको सहयोग आवश्यक रहेको बताएका छन् ।

Published : Friday, 2024 October 25, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया