रवि लामिछानेको संगठित अपराधसँग जोडिएका पावरफुल मानिस पानीपोखरीबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले ठगी तथा संगठित अपराध कसूर मुद्दामा फरार प्रतिवादी ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको छ ।

खनाल नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कम्पनी लिमिटेडको संचालक एवं शेयरधनी हुन् ।

तनहुँको भानु नगरपालिका वडा नं. ८, बगालेफाँट स्थायी वतन भएका खनाल काठमाडौंमा लुकेर बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा सीआइबीले उनलाई पक्राउ गरेको छ ।

खनाललाई सीआइबीबाट खटिएको प्रहरी टोलीले शुक्रबार काठमाडौंको महाराजगञ्ज, पानीपोखरीबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कृष्णप्रसाद जैसी समेतको जाहेरी र प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी रवि लामिछाने समेत भएको सूर्यदर्शन वचत तथा ऋण सहकारीमा रकम ठगी तथा संगठित अपराध सम्बन्धी कसूर मुद्दाको अनुसन्धानको क्रममा वारदातमा संलग्न नेचर हवर्स इन्टरनेशनल प्रा.लि. र गोरखा ग्रुप अफ कंपनी लिमिटेडको संचालक एवं शेयरधनी रामबहादुर खनाललाई यस कार्यालयबाट खटिएको प्रहरी टोलिले मिति २०८१/०७/०९ गते जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नं. ३, पानीपोखरीबाट पक्राउ गरेको व्यहोरा सूचित गरिन्छ’, सीआइबीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ परेका खनाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाइएको छ ।

सहकारी ठगी काण्डमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री पक्राउ गरेको एक हप्तापछि खनाल पक्राउ परेका छन् । प्रहरीले जीबी राई, छविलाल जोशी र लामिछानेसँग जोडिएका मानिसहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।

Published : Friday, 2024 October 25, 7:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया