जग्गा र पत्नीको अबैध सम्बन्धका कारण हत्या, दुईजना पक्राउ
सिमरा । बारा जिल्लाको महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया नयका टोल बस्ने ५५ वर्षीय भूमि सुधार भन्ने श्रीनारायणप्रसाद यादवको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँ बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा जनाएको छ ।
महागढीमाई नगरपालिका–१सेमरा तेगछिया सडक खण्डमा नारायण प्रसादलाई कात्तिक १० गते साँझ पसलबाट घर जाने क्रममा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको थियो ।
घटनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई कात्तिक १० गते उनकै घरबाट पक्राउ गरेको हो ।
प्रारम्भीक अनुसन्धानको क्रममा भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिवि तथा विवादको कारण उनले हत्या गरेको खुल्न आएको छ ।
हत्यामा प्रयोग भएको खुकुरी चौधरीको घर पछाडि झाडीमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका–३ छप्कैया टोल बस्ने २६ वर्षीय वीरेन्द्र साह सोनारको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा पर्सा बहुदरामाई नगरपालिका–९ बस्ने २८ वर्षीय विजयकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
बाराको प्रसौनी गाउँपालिका–१ त्रिवेणीस्थित गण्डक नहरमा कात्तिक १ गते बिहान वीरेन्द्र साह मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा घटनामा संलग्न विजय कुमारलाई कात्तिक ७ गते बारा कलैया उपमहानगरपालिका–१० मटिअर्वास्थित दशगंजाबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रारम्भीक अनुसन्धानको क्रममा विजयले मृतकको श्रीमतीसँग प्रेम सम्बन्धको कारणले विवाद हुँदा वीरेन्द्रको हत्या गरेको खुल्न आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया