कांग्रेस नेतृ एवं नलगाडकी उपमेयर स्व.सिंहको शालिक निर्माण
नलगाड । गत वर्ष कार्तिक १७ गते जाजरकोट भूकम्पमा परी ज्यान गुमाएकी नलगाड नगरपालिकाकी उपप्रमुख एवम् नेपाली कांग्रेसकी नेतृ सरिता सिंहको शालिक निर्माण गरिएको छ ।
शनिबार परिवारले सरिताको सम्झनामा नलगाड नगरपालिकास्थित दल्लीमा अर्धकदको शालिक स्थापना गरेका हुन् । सरिताका आफन्तले निजी खर्चमा शालिक निर्माण गरेको जनाएका छन् ।
०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी उपप्रमुख सिंहको मृत्यु भएको थियो ।
भेरी नगरपालिका–३ थाप्लेस्थित डेरामा बसेको घर भत्कँदा पुरिएर सरिताको मृत्यु भएको थियो ।
परिवारका सदस्यहरूका अनुसार शालिक र शालिकस्थल निर्माण गर्न ३ लाखभन्दा बढी खर्च भइसकेको छ । अझै शालिक रहेको स्थानको सुरक्षाका लागि घेरावारलगायतको काम बाँकी रहेको छ ।
शालिक स्थापना तथा अनावरण कार्यक्रममा कांग्रेस जाजरकोटका पार्टी सभापति एवं जाजरकोट जिल्लाका कर्णाली प्रदेश सभा सदस्य बेदराज सिंहको प्रमुख आतिथ्यतामा भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया