प्रहरी महानिरीक्षक कुँवर बेलायत प्रस्थान, कार्यबाहक राईले पाए
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बिहान बेलायततर्फ प्रस्थान गरेकन छन् ।
इन्टरपोल महासचिवालयको आयोजनामा बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने महासभामा सहभागी हुन कुँवर बेलायततर्फ प्रस्थान गरेका हुन् ।
नेशनल सेन्ट्रल व्यूराे नेपालका प्रमुख समेत रहेका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनीकुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गरेका छन् ।
उनीहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई, प्रहरी नायव महानिरीक्षक दानबहादुर कार्की लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् ।
इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठनबीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची तथा निजी संस्थाहरू बीचको सहकार्य, कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत हुने कार्यक्रम रहेको छ ।
साथै प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सहभागी हुने प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको विज्ञप्तिमा उल्लेख छ ।
प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया