सराय नाँचबारे सबैलाई थाहा छ, यसलाई प्यूठानको पर्यटनका रुपमा प्रचार गर्नुपर्छ : मन्त्री राणा

डल्ले । लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणाले प्यूठानको धेरै ठाउँलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार गृहजिल्ला प्यूठानको प्यूठान नगरपालिका वडा नं. ७ डल्लेमा ‘सराय विशेष’ मेलाको उद्घाटन गर्दै मन्त्री राणाले प्यूठानको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामी प्यूठानीहरू सराय नाँचले प्रचलित छौँ भन्ने कुरा म हिजो मात्रै काठमाडौंबाट आउने बेला नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवाज्यूलाई भेटेर प्यूठानमा कार्यक्रम छ म त्यहाँ जानुपर्ने भयोभन्दा उहाँले प्यूठानमा त सराय नाँच पनि छैन ? भन्नुभयो । मलाई अत्यन्तै खुसी लाग्यो ।’

‘यो सराय नाँचको बारेमा देशभरि सबैलाई थाहा छ’, मन्त्री राणाले भने, ‘सराय नाँचलाई भोलिका दिनमा सराय मेलालाई कसरी अगाडि बढाउन सकिन्छ ? भन्नको लागि हामी सम्पूर्णहरूलाई आग्रह गर्न चाहन्छु ।’ मन्त्री राणाले सराय नाँचलाई प्यूठानको विकास र पर्यटनसँग जोडेर प्रचार प्रसार गर्नुपर्ने बताए ।

मन्त्री राणाले सराय मेलालाई अझै व्यवस्थित बनाउन आफूबाट हुने सबै सहयोग गर्ने बताए । उनले सराय नाँचलाई सार्वजनिक ठाउँमा गर्न पाए झन् राम्रो हुने बताएका छन् ।

प्यूठान नगरपालिका–७ डल्लेमा तिहारको टीकाको भोलिपल्ट सोमबारदेखि शुरु भएको सराय मेलामा पहिलो दिन हजारौं दर्शकले अवलोकन गरेका छन् ।

किम्बदन्तीअनुसार भुरे–टाकुरे राज्य सञ्चालनका बेला राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयालीसहित प्यूठानमा वर्षेनि तिहारको टीकाको भोलिपल्ट सराय मेला लाग्ने गर्छ ।

नाङ्गो तरबार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समूह जम्मा भएर सराय नाच्ने गर्छन् । पुरुषले मात्र सराय नचाउने गरेकोमा अहिले महिलाले समेत सराय नचाउन शुरु गरेका छन् ।

मेलामा रमाइलोका लागि विभिन्न स्थानीय नाचसमेत देखाउने गरिन्छ । स्थानीय किसान, उद्यमीले उत्पादन गरेका वस्तुहरूको किनबेच हुनेगर्छ ।

प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माले पालिकाभित्रका स्थानीय मेलाको संरक्षण र व्यवस्थापनका लागि पालिकाले आवश्यक बजेटसहितको कार्यक्रम बनाउँदै सहयोग गर्दै आएको बताएका छन् ।

कार्यक्रममा मन्त्री राणासहित लुम्बिनी प्रदेश सभाकी सदस्य धनलक्ष्मी श्रेष्ठ, प्यूठान नगरपालिकाका मेयर विष्णु योगीलगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2024 November 5, 5:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया