सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रामदत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई बिदाइ गरेका छन् ।
मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी कुँवरले बिदाइ गरेका हुन् । कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गरेका छन् ।
संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको आईजीपी कुँवरले बताएका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रामदत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मायाको चिनो प्रदान गरेका छन् ।
सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रामदत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ–आफ्नो मन्तव्य व्यक्त गरेका छन् ।
सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रित भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताए ।
विक्रम संवत् २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी कात्तिक १७ गते तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा कात्तिक १५ गते र विक्रम संवत् २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला कात्तिक १० गते सेवानिवृत्त भएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया