घिमिरेको कार्यकक्षभित्र राउत कानून व्यवसायीसहित प्रवेश, गोमालाई हटाउन माग

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता सीके राउतले सभामुख देवराज घिमिरेसँग भेट गरेर आफ्नो पार्टीकी समानुापतिक सांसद गोमा लाभ सापकोटालाई हटाउन आग्रह गरेका छन् ।

सोमबार संसद सचिवालय सिंहदरबारमा अध्यक्ष राउतले सभामुख घिमिरेसँग समानुपातिक सांसद सापकोटालाई हटाउन आग्रह गरेका हुन् । अध्यक्ष राउत कानून व्यवसायीसहित सभामुख घिमिरेको कार्यकक्षमा पुगेका थिए । सभामुख घिमिरेसँग अध्यक्ष राउतले सापकोटालाई हटाउने निर्णय सदर नहुनुको कारण माग गरेका थिए ।

यसअघि, चार पटकसम्म जनमत पार्टीले आफ्नी समानुपातिक सांसद सापकोटालाई हटाउन संसद सचिवालयमा पत्र पठाइसकेको छ ।

‘सापकोटामाथि पार्टीको विधानबमोजिम कार्यकारिणी समितिबाट कारबाही भई जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको हुँदा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ बमोजिम यो सूचना पेस गरेको’, संसद सचिवालयमा जनमत पार्टीले पठाएको पत्रमा उल्लेख छ ।

जनमत पार्टीले २७ फागुन ०८० मा पहिलोपटक सापकोटालाई पार्टीले साधारण सदस्य नरहने गरी निष्कासन गरेको भन्दै सांसद पदबाट हटाउन पत्र पठाएको थियो ।

महोत्तरीको मडैनिवासी सापकोटालाई जनमतले ४ मंसिर ०७९ को निर्वाचनमा समानुपातिकतर्फ खसआर्य महिला कोटामा सांसद बनाएको थियो ।

पार्टीको निर्णयका आधारमा सभामुखबाट सापकोटा पदमुक्त भएमा उनको ठाउँमा खसआर्य महिला कोटाबाट काठमाडौंकी निता नेपाल (घिमिरे) समानुपातिक सांसद बन्नेछिन् ।

Published : Wednesday, 2024 November 13, 9:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया