कमलादीमा मोक्सी ब्राण्डमा युवा लक्षित फोर स्टार होटल सञ्चालन हुँदै
काठमाडौं । व्यवसायी शशिकान्त अग्रवालसहितको समूहले काठमाडौंको कमलादीमा मोक्सी ब्राण्डमा होटल सञ्चालन गर्न लागेको छ ।
होटलको काम अन्तिम चरणमा पुगिसकेको छ । केही महिनापछि होटल सञ्चालनमा आउनेछ । मोक्सीले काठमाडौंमा नयाँ अवधारणामा कमलादीमा फोर स्टारको होटल बनाइरहेको छ । होटलको पूर्वाधार निर्माण भइरहेको छ ।
होटल जेठ महिनाभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । १ सय कोठा रहेको होटल बनाउन १ अर्ब ६५ करोड रुपियाँ लगानी हुनेछ ।
होटलमा १ अर्ब ५० करोड रुपियाँ लाग्ने अनुमान गरिएको थियो । लागत बढेर १ अर्ब ६५ करोड रुपियाँ पुग्नेछ । होटलको पूर्वाधार २ रोपनी क्षेत्रफलमा रहनेछ । मोक्सी होटलमा युवापुस्तालाई लक्षित गरेर काम भएको छ ।
मोक्सी होटलमा गीत संगीतको मज्जा लिन सकिनेछ । दिनभरि रमाइलो गर्न सक्ने गरी होटल निर्माण गरिएको छ । होटलभित्र पस्ने बित्तिकै बार देखिनेछ । बारमै रजिष्टर गर्ने र त्यही रमाइलो गरेर रुममा गएर सुत्ने गरी संरचना बनाइएको छ ।
मोक्सी होटल ब्राण्डलाई काठमाडौंमा भित्र्याउन मेरियट इन्टरनेसनल र इन्टरनेसनल हिमालय हस्पिटालिटी एण्ड होटलबीच सम्झौता भएको छ ।
अग्रवालले नक्सालमा पाँचतारे होटल मेरियट सञ्चालन गरिरहेका छन् । अग्रवालको ग्रुपको लगानीमा ठमेलमा पनि फेयरफिल्ड म्यारियट होटल सञ्चालनमा छ । थ्री स्टार फेयरफिल्ड मेरियटको व्यवस्थापन मेरियटले गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया