नेपाल वायुसेवा निगमले संकटमा साथ दियो, अन्तर्राष्ट्रिय उडानतर्फको भाडादरमा छुट

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानतर्फको भाडादरमा छुट दिने जनाएको छ ।

बिहीबार निगमले विज्ञप्ति जारी गरेर सिट उपलब्धताका आधारमा दिल्ली, मुम्बई, बैंलुरु, दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरमा २५ सयदेखि ५ हजार रुपियाँसम्म छुट दिने जनाएको छ ।

सिट उपलब्ध भएमा पहिले आउनेलाई पहिलो प्राथमिकताका आधारमा छुट दिने निगमले जनाएको छ । यसका लागि यात्रु आफैं परिचय खुल्ने पत्रसहित न्यूरोडस्थित निगमको कार्यालयमा उपस्थित हुनुपर्नेछ ।

विज्ञप्तिमा भनिएको छ, ‘दिल्ली, मुम्बई र बैंलुरु सेक्टरको लागि बजार भाडादरमा २५ सय रुपैयाँसम्म छुट दिइने छ ।’

‘दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि बजार भाडादरमा ५ हजार रुपियाँसम्म छुट दिइनेछ’, निगमले जनाएको छ ।

विदेशी यात्रु छुट पाउने छन् वा छैनन् निगमले केही भनेको छैन । निगमले मन्त्रालयको निर्देशनअनुसार छुट सुविधा ल्याएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट विशेष निर्देशन भएबमोजिम राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरूको भाडादरमा निगमको अन्तर्राष्ट्रिय टिकट बिक्री कार्यालयबाट टिकट लिन सकिने व्यवस्था मिलाइएको छ ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द भएको कारण तत्कालीन अवस्थामा विभिन्न वायुसेवाहरूको हवाई उडानहरू कटौती भएका कारण उडानहरूको मागबमोजिम आपूर्ति हुन नसकेको अहिलेको अवस्थामा हवाई भाडा अत्याधिक बढेको जनगुनासो भए पनि निगमले जहाज र सिट संख्याको उपलब्धताको आधारमा गत वर्षको सोही अवधिको भाडादरको दायराभित्र रहेर टिकट बिक्री गरिरहेको जनाएको छ ।

निगमले नियमानुसार उपलब्ध गराएको दरभन्दा बढी मुनाफा लिएर निगमको टिकट कालोबजारी भएको प्रमाण उपलब्ध गराउन पनि आग्रह गरेको छ ।

उता, अन्तर्राष्ट्रिय हवाई उडानमा देखिएको कृत्रिम अभावबारे अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यदल गठन गरेको छ ।

मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा गृह मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण लामिछानेका अनुसार यथाशीघ्र प्रतिवेदन बुझाउनेगरी गठित कार्यदलले यात्रुले खरिद गरेको हवाई टिकट र एयरलाइन्सले बिक्री गरिरहेको टिकट र कालोबजारी अध्ययन तथा अनुगमन गरी सुझाव दिनेछ ।

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए ।

निर्देशन बमोजिम शुक्रबार अन्तर्राष्ट्रिय उडान गर्ने ११ हवाई कम्पनीले बिक्री गरेका टिकटको मूल्य, टिकटको उपलब्धता र यात्रुको विवरण बुझाएको मन्त्रालयले जनाएको छ ।

Published : Thursday, 2024 November 21, 9:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया