मनहरीमा साबेल प्रहार गरी आफ्नै साथीको हत्या, आमा गम्भीर घाइते, अभियुक्त पक्राउ
हेटौँडा । आफ्नै साथीको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३४ वर्षीय अमरबहादुर लोप्चनलाई पक्राउ गरेको छ ।
बिहीबार बिहान करीब साढे १ बजे मनहरी गाउँपालिका वडा नं. ६ प्रतापुर लच्का बस्ने अम्मरबहादुर लोप्चनले ५० वर्षीय जीतबहादुर मोक्तानको हत्या गरेको मकवानपुर प्रहरीका प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।
आफ्नै घरमा सुतेका जीतबहादुर मोक्तानलाई अम्मरबहादुर लोप्चनले साबेलले प्रहार गरी गम्भीर घाइते बनाएका थिए । जीतबहादुर मोक्तानको चितवनस्थित सरकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । जीतबहादुर मोक्तानकी गम्भीर घाइते आमा निश्रीमाया मोक्तानको उपचार भइरहेको छ ।
मृतक जीतबहादुर मोक्तान र अमरबहादुर लोप्चन संगै मजदुरी काम गरी हिंड्ने गरेका थिए । प्रायः जसो दुबै जना अमरबहादुर लोप्चनको घरमा सुत्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
जीतबहादुर मोक्तान सुतिरहेको अवस्थामा अमरबहादुर लोप्चनले एक्कासि साबेलले प्रहार गरी घाइते बनाएका थिए । घटनाको खबर प्राप्त हुना साथ पुगेको प्रहरीले घाइते जितबहादुर मोक्तानलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल चितवन पठाएको थियो ।
अमरबहादुर लोप्चनको प्रहारबाट मृतक जीतबहादुर मोक्तानकी आमा निश्रीमाया मोक्तान गम्भीर घाइते भएकी छिन् । निश्रीमाया मोक्तानलाई टाउको र दुबै खुट्टामा चोट लागेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया