ठगका अभियुक्त लामिछानेलाई प्रहरीले गाडीबाट पोखरा लग्यो, भाडाका टट्टुहरूले थाहै पाएनन्

भरतपुर । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएपछि पोखरा लगिएको छ ।

बिहीबार बिहान ४ बजे लामिछानेलाई पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) गौतम मिश्रले बताए । बयान सकिएपछि लामिछानेलाई कास्की प्रहरीले पोखरा लगेको उनले बताए ।

लाामिछानेलाई मंगलबार बिहान चितवन ल्याइएको थियो । बुधबार राति नौ बजेसम्म लामिछानेसँग बयान लिइएको थियो । लामिछानेलाई कात्तिक दुई गते कास्की प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।

लामिछानेसँग प्रहरीले सहकारी ठग, संगठित अपराध र सम्पत्ति शुद्धीकण प्रकरणमा अनुसन्धान गरिरहेको छ ।

सहकारी ठगका अभियुक्तलाई रिहाइको माग गरेर बुधबार केही अराजक समर्थकले भरतपुरमा दङ्गाफसाद गर्न खोजेका थिए । रास्वपाका अराजक कार्यकर्ताको आक्रमणबाट प्रहरीहरू घाइते भएका थिए ।

काठमाडौंमा स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेलाई पनि आरोपित गरेर जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो । बयानका लागि रविलाई गत बिहीबार पोखराबाट काठमाडौं लागिएको थियो ।

लामिछाने र परिवारको नाममा रहेको सम्पत्ति रोक्का गरेर अनुसन्धान गरिरहेको प्रहरीलाई सम्पत्ति शुद्धीकरणको मुद्धामा गत मंसिर ९ गते थप अनुसन्धानका लागि १५ दिन म्याद थप भएको छ ।

अब भने लामिछानेको अनुसन्धान सकेर जिल्ला अदालतमा मुद्धा दायर गर्ने तयारी प्रहरीको छ । लामिछानेविरुद्ध पोखरा, बुटवलसँगै काठमाडौं, चितवन र पर्सामा पक्राउ पुर्जी जारी भएको छ । लामिछानेलाई अब पर्सासमेत लगेर बयान लिने तयारी भएको छ ।

संसदीय समितिको प्रतिवेदनमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्न रविको पनि संलग्नता देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।

सहकारी समस्याबारे छानबिन गर्न गठित विशेष संसदीय छानबि समितिले सिफरिस गरेका सबै सहकारीमा उनीविरुद्ध जाहेरी दर्ता हुने र पक्राउ पुर्जी जारी भएको छ । सहकारीको ऋण तिर्न लामिछाने आफैंले काटेका चेक पनि प्रहरीले बरामद गरेर अनुसन्धान गरिरहेको छ ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपियाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको समितिको प्रतिवेदनले देखाएको छ ।

समितिले गोर्खा मिडियामार्फत रकम अपचलन भएको भन्दै जीवी, रवि, छविलाल र कुमार रम्तेललाई कारबाही गर्न सिफारिस गरेको छ । जीवी फरारै छन् । लामिछाने र जोशीमाथि अनुसन्धान भइरहेको छ ।

झण्डै डेढ अर्ब अपचलन भएको सूर्यदर्शन सहकारीका कोषाध्यक्षसमेत रहेका कुमार रम्तेल भने पुर्पक्षका लागि कास्की कारागारमै थुनामा छन् ।

Published : Thursday, 2024 December 5, 10:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया