देउखुरीमा विङ्गर बस दुर्घटना, २ जनाको मृत्यु, १२ जना घाइते
लमही । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्र राजमार्गको च्याउ खोलानजिकै विङ्गर बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् ।
सोमबार बिहान ६ बजे लमही नगरपालिका वडा नं. ९ च्याउ खोला नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ बस्ने वर्ष ४२ की त्रिथी थारु र वर्ष ६० की फूलसी थारु रहेका छन् । उनीहरूको उपचारका क्राममा मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ ।
चन्द्रौटाबाट बर्दियातर्फ जाँदै गरेको लु १ ज ४२९८ नम्बरको विङ्गर बस दुर्घटना हुँदा विङ्गर बसमा सवार १२ जना घाइते भएका हुन् । बसमा १५ जना यात्रु सवार रहेका थिए ।
घाइतेहरूको लमही अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि घोराहीतर्फ पठाइएको छ । घाइतेहरूको अवस्था मध्यम रहेको छ ।
विङ्गर बसका चालक कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ बस्ने वर्ष ३२ का अशोक कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घाइते हुनेहरूमा शिवराज नगरपालिका कै वर्ष ४५ की मिथिया थारु, वर्ष ६५ की चेहली थारु, वर्ष ७७ की दर्सनी थारु, वर्ष ६० की महङ्गी थारु, वर्ष ४० की सरिता थारु, वर्ष ५५ की राम पियारी थारु रहेका छन् ।
वर्ष ४७ का रामचन्द्र थारु, वर्ष ४५ का बुद्धि चौधरी, वर्ष ४५ की फूलबजनी चौधरी, वर्ष ४५ की गुड्डी थारु, वर्ष ३८ का बुद्धराम थारु र वर्ष ३६ का सुरेश यादव घाइते भएको विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया