अदालतले सहकारी ठगका अभियुक्त लामिछानेलाई छाड्न मानेन, म्याद थप
पोखरा । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।
मंगलबार जिल्ला अदालत कास्कीले लामिछानेलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालले प्रहरीले माग गरे बमोजिम लामिछानेलाई ४ दिन हिरासतमा राख्न अनुमति अदालतले दिएको बताए ।
पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछाने कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । प्रहरीले लामिछानेविरुद्ध अनुसन्धान सकेर सोमबार सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाइसकेको छ ।
पोखराको सूर्यदर्शन सहकारीका १८ हजार ७ सय सर्वसाधारणको बचत अपचलनमा अन्य ५० जनालाई जस्तै रास्वपा सभापति रवि लामिछानेलाई पनि मुद्दा चलाउने सिफारिससहित प्रतिवेदन बुझाएको छ ।
लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधमा चारदेखि ६ वर्ष तथा थप ५० प्रतिशत र सम्पत्ति शुद्धीकरणमा दुईदेखि १५ वर्ष कैद र २८ करोड बिगो र त्यति नै जरिवाना असुल गर्ने मागसहित मुद्दा चलाउन सिफारिस भएको छ ।
सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका तथा फरार रहेका १९ व्यक्तिविरुद्ध २०८० असोज १८ मा मुद्दा दर्ता भइसकेको छ । मुद्दा चलाइएकामध्ये गोर्खा मिडिया नेटवर्कका अध्यक्षसमेत रहेका जीबी राई फरार छन्, सोही कम्पनीका सञ्चालक कुमार रम्तेल पुर्पक्षका लागि २०८० भदौदेखि कास्की कारागारमा छन् ।
लामिछानेसहित ३२ जनलाई मुद्दा चलाउन र समग्रमा सहकारीको कुल १ अर्ब ३५ करोड असुल गर्न प्रहरीको राय छ । सूर्यदर्शन सहकारीबाट गितेन्द्रबाबु राई (जीबी)मार्फत लामिछानेको ग्लोबल आईएमई बैंकको खातामा ७५ लाख जम्मा भएको तथा सूर्यदर्शन सहकारीमा नै लामिछानेको नाममा पेस्की जनाई ५० लाख गोर्खा मिडियामा भुक्तान भएको प्रमाण भेटिएको प्रहरीको दाबी छ ।
सूर्यदर्शनसहितका सहकारीको रकम अपचलन गरी लामिछाने सेयरधनी तथा प्रबन्ध निर्देशक भएको समयावधिमा गोर्खा मिडिया नेटवर्कमा २६ करोड १४ लाख ४४ हजार रकमान्तर भएको प्रहरीको दाबी छ । कुल २७ करोड ८९ लाख ४४ हजार ७ सय ५ रुपियाँ बिगो दाबी गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया