रविजी चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क : गृहमन्त्री लेखक
बुटवल । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा अमर्यादित व्यवहार नभएको बताएका छन् ।
बुधबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखकले काठमाडौंबाट पक्राउ गरी पोखरा लैजाने क्रममा लामिछानेले जहाजमा जान नमानेको बताए । चितवनबाट पोखरा जाँदा मानवअधिकार उल्लंघन भयो भन्नु कुतर्क रहेको उनले बताए ।
‘रविजीले मानवअधिकार हनन् भयो भनेर अदालतसमक्ष भन्नु भएको छैन, बाहिरको कुरा मात्रै हो’, गृहमन्त्री लेखकले भने ।
लेखकले मकै पोल्ने, दिनभरि ठेला चलाउने, ज्याला मजदुरी गरेर जम्मा गरेको पैसा हिनामिना गर्नेले भिड जम्मा गरेर न्यायका कुरा गर्न नसुहाउने बताए ।
प्रश्न गर्दै उनले भने, ‘दिनभरि काम गरेर भोकै बसेर जम्मा गरेको रकम खाईदिने अनि भिड जम्मा गरेर न्यायका कुरा ? त्यसो गर्ने हो भने प्रहरी अदालत न्यायाधीश किन चाहियो ? मकै पोल्नेठेला चलाउनेको न्याय खोई ?’
‘लाखौं गरिब मान्छेको अर्बौं रुपियाँ हिनामिना गर्ने, ठगी गरेर अर्काको रकम खाईदिने अनि मानवअधिकार उल्लंघन भयो भन्ने ? उहाँमाथि कुनै अवाञ्छित गतिविधि भएका छैन’, गृहमन्त्री लेखकले भने ।
गृहमन्त्री लेखकले सहकारी ठगीका मुख्य योजनाकार जीवी राईलाई ल्याउने कुरामा सरकार गम्भीरता पूर्वक लागेको बताए ।
उनले कुनैपनी सरकार वा गृहमन्त्री फेरिँदा अपराध र अनुसन्धानका फाईल रोक्न प्रहरीलाई दवाब दिने काम बेठीक भएको बताएका छन् ।
‘अनुसन्धान र कार्वाही प्रमाणका आधारमा गर्ने हो, गृहमन्त्री फेरिदा निकटका मान्छेको फाईल रोक्ने र अरूको फाइल अगाडि बढाउने प्रवृत्ति गलत हो’, गृहमन्त्री लेखकले भने ।
मुलुकमा अस्थिरता र अप्ठ्यारो अवस्था श्रृजना भएको बेला नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता ठूला दल एकठाउँ भएको उनले बताएका छन् ।
लेखकले अहिले मुलुक आर्थिक र सामाजिक रुपमा समस्या बढ्दै गएकाले एमाले र कांग्रेसका बीच गठबन्धन बनेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया