काठमाडौंमा हुण्डी कारोबारी ६८ लाखसहित पक्राउ
काठमाडौं । हुण्डी कारोबारमा संलग्न रहेका ४ जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।
मंगलबार राति करीव १० बजेतिर एयरपोर्ट शम्भुमार्गस्थित सडकखण्डमा हुण्डी कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापामारेको थियो । प्रहरी वृत्त गौशालाबाट खटिगएको प्रहरी टोलीले शंका लागि सोही स्थानमा रोकी राखेको प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुण्डाइको क्रेटा कारलाई चेकजाँच गर्ने क्रममा पैसासहित ४ जना पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट नेपाली रुपियाँ ६८ लाख बरामद भएको छ । रकम उल्लेख गरिएका चेक थान ५ पनि बरामद भएको छ ।
पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं महानगरपालिका वडा नं. ३२ दोभानपुल घर भएका वर्ष ४६ को राजकुमार माली, नयाँ बानेश्वर घर भई बस्ने वर्ष १८ को आवाद सिंह, झापाको विर्तामोड नगरपालिका वडा नम्बर ५ घर हुने वर्ष २७ को युवराज सुवेदी र झापाको अर्जुनधारा नगरपालिका वडा नं. ७ घर भई हाल काठमाडौं वडा नं. ७ बस्ने वर्ष ३२ को प्रवेशकुमार पौडेल रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्रोत नखुलेको नेपाली नगद ६८ लाख रुपियाँ, रकम उल्लेख गरिएका चेक थान ५, मोबाइल थान ५ र प्रदेश ३–०१–०२२ च १९७२ नम्बरको सेतो रङको हुण्डाइको क्रेटा कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया