समानताका लागि नारीवादी परराष्ट्र नीति आवश्यक : परराष्ट्रमन्त्री डा.राणा

बर्लिन । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले समानता र सबै अल्पसंख्यक समूहहरूको अधिकारको सुनिश्चितताका लागि नारीवादी परराष्ट्र नीति आवश्यक रहेको बताएकी छिन् ।

मंगलबार जर्मनीको बर्लिनमा आयोजित समानतासम्बन्धी सम्मेलनमा नारीवादी परराष्ट्र नीतिसम्बन्धी प्यानललाई सम्बोधन गर्दै डा.राणाले यो नीतिले रूपान्तरणको प्रतिज्ञा र सम्भावना बोकेकाले यसको अनुशरण आवश्यक रहेको बताइन् ।

जहाँ पितृसत्ता बढी बहिष्करणमुखी र शक्तिकेन्द्रित हुन्छ त्यहाँ समानताको सिद्धान्तले काम गर्छ भन्दै परराष्ट्रमन्त्री डा.राणाले समानताका अन्य नीतिहरूजस्तै नारीवादी परराष्ट्र नीतिले पनि मेलमिलाप, समभाव र समावेशिता अँगाल्ने बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले भनिन्, ‘नारीवादी परराष्ट्र नीतिले श्रेणीबद्धता र बहिष्करणमा आधारित पितृसत्तात्मक संरचनालाई चुनौती दिने काम गर्दछ । यो नीतिले समावेशिता, सहानुभूति र समानताका सिद्धान्तहरूलाई प्राथमिकतामा राख्दछ र समग्रमा मानव सुरक्षा भन्ने बृहत अवधारणालाई अघि सार्दै कूटनीतिमा सबैलाई समान रुपमा व्यवहार गर्दछ ।’

यो नीतिले आपसी समझदारी र समभावको मान्यतामा रहेर लैङ्गिक तथा यौनिक लगायत अन्य अल्पसंख्यकहरूको अधिकार र चासोहरूलाई पनि सुरक्षित गर्न सहयोग गर्ने उनले बताएकी छिन् ।

उनले भनिन्, ‘हामीले यौनिक र लैङ्गिक अल्पसंख्यकहरूको संवेदनशीलताको सम्मान गर्दै नारीवादी परराष्ट्र नीतिलाई पुनर्जीवित गर्न आवश्यक छ । न्याय र समानतामा आधारित समाज निर्माणमा यो सहयोगी सिद्ध हुनेछ ।’

विभेद र अन्यायको अन्त्य गर्न सतही परिवर्तनले मात्र पर्याप्त नहुने भन्दै सामाजिक मूल्य र मान्यताहरूमा आधारित रूपान्तरण गर्नका लागि नीतिमा समानता आवश्यक रहेको उनले बताइन् ।

परराष्ट्रमन्त्री डा.राणाले लैङ्गिक एवं यौनिक लगायतका अल्पसंख्यकहरूको अधिकारका क्षेत्रमा भने नेपाल विश्वमै उदाहरणीय रहेको बताएकी छिन् ।

Published : Wednesday, 2024 December 18, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया