प्रचण्डले अन्याय गरेका शर्मा भारतका लागि राजदूत नियुक्त

काठमाडौं । शंकरप्रसाद शर्मालाई भारतका लागि राजदूतमा नियुक्त गरिएको छ ।

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शर्मालाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गरेका हुन् । भारतले शर्माका लागि एग्रिमो पठाए लगत्तै राजदूतमा नियुक्त गरिएको हो ।

राष्ट्रपति पौडेलले मलेसियाका लागि पनि नेत्रप्रसाद तिम्सिनालाई राजदूतमा नियुक्त गरेका छन् ।

शर्मालाई भारत र तिम्सिनालाई मलेसियाका लागि आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालले लगातार दोस्रो पटकका लागि शर्मालाई भारतको राजदूतमा पठाउने निर्णय गरेको थियो । त्यसका लागि भारत सरकारलाई पत्राचार गरिएको ७८ दिनपछि एग्रिमो प्राप्त भएको छ ।

शर्मा २०७८ चैतदेखि २०८१ असारसम्म नेपालका लागि भारतमा राजदूत थिए । चारवर्षे कार्यकाल पूरा नहुँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले गत जेठ अन्तिममा ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्दा त्यसमा शर्मा पनि परेका थिए ।

लगत्तै सत्ता समीकरणमा फेरबदल भयो र कांग्रेसको समर्थनमा प्रधानमन्त्री बनेका केपी ओली नेतृत्वको सरकारले साउन १४ मा शर्मालाई पुनः भारतका लागि राजदूत सिफारिस गरेको थियो । सरकारले शर्मासँगै १९ देशका लागि राजदूत सिफारिस गरेको थियो ।

परराष्ट्र मन्त्रालयले असोज ११ मा भारतसँग शर्माका नाममा सहमति मागेको थियो । परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतले मंसिर २८ मा एग्रिमो पठाएको छ ।

शर्माको पहिलो कार्यकालमा पनि तीन महिनापछि मात्र भारतले एग्रिमो पठाएको थियो ।

Published : Wednesday, 2024 December 18, 8:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया