‘मेरो पहिचान इमान्दारिता र लगनशीलता हो’ (अन्तर्वार्ता)

– रामकृष्ण यादव, कृषि विकासमन्त्री

सार्वजनिक लेखा समितिको सभापति भएकाले बेला विभिन्न मन्त्रालय र सरकारी कार्यालयहरूमा भएका भ्रष्टाचार तथा अनियमिताहरू रोक्न ठूलो भूमिका खेल्नु भएका रामकुष्ण यादवले अहिले कृषि मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । कुनै समय सोही कृषि मन्त्रालयभित्र भएका अनियमितताका विषयमा यादव आफैले लेखा समिति छलफल गराएर कारबाहीदेखि अनुशासित रुपमा काम गर्न निर्देशन दिएको थियो । कृषिलाई सरकारले हरेक वर्ष पहिलो प्राथमिकतामा राख्ने गरेको थियो । अहिले आएर सरकारले कृषिलाई ध्यान दिएको हो कि भन्ने प्रश्न उब्जिएको छ । यसैसन्दर्भमा कृषि विकासमन्त्री रामकृष्ण यादवसँग गरिएको कुराकानी :

कृषि विकास मन्त्रालयमा धेरै अनियमितता र भ्रष्टाचार छ भन्छन् रोक्ने प्रयास गर्नुभएको छ कि छैन ?

मैले पनि सुनेको छु । अहिले त्यस्तो केही भएको थाहा पाएको छैन । यदि त्यस्तो अनियमितता भएको रहेछ भने म चुपलागेर बस्दिन । सिधै एक्सनमा जान्छु । संसदको सार्वजनिक लेखा समितिको सभापति भइसकेको व्यक्ति हुँ । दायाँबायाँ गर्न जानेको छैन ।

लेखा समिति चलाउन सजिलो कि मन्त्रालय चलाउन सजिलो ?

हेर्नुस् काम भनेको इमान्दारिता र लगनशीलताले गर्नुपर्छ । सजिलो वा गाह्रो भन्ने हुँदैन । लेखा समिति पनि जिम्मेवार भएर चलाएको थिएँ । मन्त्रालय पनि राम्रोसँग चलाउँछु ।

कृषि विकास मन्त्रालयमा तपाईले नयाँ कार्यक्रम केही ल्याउनु भएको छ ?

नयाँ कार्यक्रम भन्दा पनि कृषि मन्त्रालयका योजनाहरूलाई तीन भागमा विभाजन गरिएको छ । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाहरू बनाउन लगाएको छु । अल्पकालीन कार्यक्रमहरू लागू भइसकेका छन् । मध्यकालीन र दीर्धकालीन कार्यक्रमहरू लागू हुने बेला तराईमा बाढीले डुबान बनायो । अहिले रोकएको छ । फेरि पनि हामीले कार्यक्रम बनाएर कृषकहरूलाई राहत दिने छौँ ।

कृषि मन्त्रालयको बजेट कार्यान्वयन नहुने समस्या छ भन्छन् नि ?

हो यो समस्या मेरो मन्त्रालयको मात्रै होइन । अरु मन्त्रालयमा पनि छ । बजेट समयमा खर्च गर्नुपर्छ । कार्यक्रमहरू समयमा पूरा गर्नुपर्छ । मेरो प्राथमिकता बजेट खर्चमा पनि छ । कार्यक्रमहरू समयमा सम्पन्न गरेर जनतालाई त्यसको प्रतिफल दिनुपर्छ । मन्त्रालय र विभाज तथा मातहतलाई बजेट कार्यान्वयन र योजनाहरूका विषयमा ध्यान केन्द्रित गर्न निर्देशन दिएको छ । म पनि बेलाबेला अनुगमनमा निस्कनेछु ।

दुधको भाउ त ह्वतै बढ्यो किन हो ?

मेरो ध्यान यतातिर पनि गएको छ । कृषकले दुःख गरेर उत्पादन गरेको दुधलाई सस्तोमा पनि किन्नु हुँदैन भन्ने मान्यता मेरो छ । तर, मूल्य बढेर गरिव जनताले दुध खानै नपाउने अवस्था हुनुहुँदैन भन्ने कुरा मैले राखेको छु । मूल्यलाई कसरी समायोजन गर्ने हो त्यसतर्फ पनि ध्यान दिने छु । सरोकारवाला निकायसँग सरसल्लाह भइरहेको छ ।

बाढी तथा डुबानमा परेका किसानलाई राहत दिने विषयमा केही सोँच्नु भएको छ ?

राहत दिने पूरा तयारी गरेका छौँ । सरसल्लाह भइरहेको छ । किसानहरूलाई राहत दिने तयारी गरेका छौँ । राहतका कार्यक्रम घोषणा हुन्छ । सरकारले जनतालाई राहत दिन्छ । हामी जनताका लागि काम गर्न बसेका हौँ ।

सुख्खाग्रस्तले गर्दा बालिनालीमा नोक्सानी भएको गुनासोहरू आएका छन् त्यतातिर सरकारको ध्यान गएको छ कि छैन ?

किन नजानु ध्यान गएको छ । मैले पहिला पनि भनिसकेको छु । किसानलाई राहत दिने गरेर कार्यक्रम आउँदै छ । छिट्टै ती कार्यक्रमहरूका बारेमा तपाईले थाहा पाउनु हुनेछ ।

त्यसो भए अब किसानहरूले राहतको प्याकेज पाउँछन् ?

निस्चित पनि उनीहरूलाई राहत दिइनेछ । त्यसमा दुईमत छैन । कृषिमा राहतका प्याकेज कार्यक्रम बनिरहेका छन् ।

कृषिमा अनुदान लिएर जिम्मेवारी अनुसार काम नगर्ने, पैसा घोटाला भएका थुप्रै उदाहरण पनि छ भन्छन् के हो ?

हो अनुदामन लगेर कृषि क्षेत्रमा भनेअनुसारको काम नगर्ने परम्परा रहेको मैले पनि सुनेको छ । मैले त्यस्ता क्रियाकलापहरूलाई निरुत्साहित गर्नेछु । कसैले त्यस्तो गरेको रहेछ भने कानूनी दायरमा ल्याइनेछ । जे कामका लागि अनुदान लगिएको हो त्यो अनुदान सोही काममा खर्च हुनुपर्छ । प्रगति विवरण बुझाउनु पर्छ । मन्त्रालय वा मन्त्री या कर्मचारी मात्रै यसमा दोषी छैनन् । यसमा अनुदान लैजाने व्यक्ति वा किसान पनि जिम्मेवार बन्नुपर्छ ।

सधै रासायनिक मलको अभाव भइरहन्छ किन हो ?

हामीसँग आधुनिक रासायनिक मलको उद्योग छैन । बाहिरबाट रासायनिक मल खरिद गर्नुपर्ने बाध्यता छ । त्यसकारले पनि समस्या भएको हो । रासायनिक मलको उद्योग स्थापना गर्ने विषयमा पनि मेरो सोँच छ । तर, त्यसका केही प्राविधिक र प्रशासनिक झन्झट छन् भन्ने सुनेको छु । यदि सहज रुपमा उद्योग स्थापना गर्न सकियो भने नेपालका किसानलाई सहज हुनेछ । मेरो कार्यकालमा कम्तिमा यस्तै एउटा राम्रो र स्मरण योग्य काम गर्न पाए हुन्थ्या भनेरे सोँच बनाएको छ । सबैको साथले मात्रै म सफल हुने हो ।

तपाईका मन्त्रालयका कर्मचारीहरूले कत्तिको असयोग गरेका छन् ?

म आएदेखि सहयोग नै भएको छ । बरु हामी सबै बाढीले नोक्सानी गरेको खेतीबारीलाई कसरी फेरि पहिलाकै अवस्थामा ल्याउन सकिन्छ भनेर छलफल गरेका छौँ ।

Published : Monday, 2017 September 4, 6:45 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया