फोरम नेता यादवद्धारा १५ करोडको जग्गा दान
सप्तरी । संघीय समाजवादी फोरम नेपालका नेता अनिरुद्ध सिंह यादवले आफ्नो दश कट्ठा निजी जग्गा सरकारलाई दान गरेका छन् ।
सप्तरीको बोदेबरसाइन नगरपालिकाको भवन निर्माणका लागि सो जग्गा फोरम नेता यादवले दान गरेका हुन् ।
करिब १५ करोड मूल्य बराबरको सो जग्गामा नगर भवन निर्माण गरिने बोदेबरसाइन नगरपालिकाका प्रमुख अतेशसिंह यादवले जानकारी दिए ।
भर्खरै सम्पन्न भएको प्रथम नगर सभाको भेलामा नेता यादवले नगर भवन निर्माणका लागि सो जग्गा दान गरेका हुन् ।
दान गरिएको जग्गा बोदेबरसाइन नगरपालिका वडा नंं ५, बोदेबरसाइन बजारमा हुलाकी सडक नजिकै रहेको छ । जग्गादान गर्ने नेता यादव नगर प्रमुख अतेशसिंह यादवका बुबा हुन् ।
फोरम नेपालका केन्द्रीय सदस्यतथा सप्तरी जिल्लाका इन्चार्ज यादवले जग्गा दान गरेसँगै बोदेबरबाइन नगरपालिकालाई आफ्नो भवन निर्माण गर्न सहज भएको छ ।
राजनीतिक र सामाजिक व्यक्तित्वको रुपमा सप्तरीमा निकै नै चर्चित रहेका यादवले चार महिना अघि ८ कट्ठा दुई धुर जग्गा विद्यालयलाई दान गरेका थिए ।
बोदेबरसाइन नगरपालिकामा ५ करोड बराबर लागतको सो जग्गा श्रीचन्दर शत्रुधन माविमा प्लस टू भवन निर्माणका लागि दान गरेका थिए ।
बोदेवरसाइन नगरपालिकाको सम्पन्न नगरसभाबाट आव २०७५/०७६ का लागि रु ५५ करोड ७८ लाख एक हजार ७०० को अनुमानित खर्च सार्वजनिक गरेको छ । कार्यक्रममा नगर प्रमुख आतेशसिंह यादवले बजेट प्रस्तुत गरेका थिए ।
यसमा तपाइको मत