गोरुको ‘फाइट’ देखाउन एमालेका महासचिवलाई हेलिकप्टर चार्टर
त्रिशूली । नुवाकोटको तारुकामा भएको गोरु जुधाई कार्यक्रममा सहभागी हुन एमाले महासचिव र्इश्वर पोखरेललगायतको टोली हेलिकप्टर चार्टर गरेर आएको खबरले खैलाबैला मच्चाएको छ ।
तारकेश्वर गाउँपालिकास्थित तारुकामा सोमबार भएको गुरु जधाइ कार्यक्रम हेर्न हेलिकप्टर चार्टर गरेर एमाले महासचिव र्इश्वर पोखरेल, एमालेका केन्द्रीय सदस्य सूर्य थापा, एमालेबाट प्रदेश सभामा नुवाकोट क्षेत्र नम्बर १ ‘ख’ का जनप्रतिनिधि बद्री मैनालीलगायतको टोली हेलिकप्टरमा गोरु जुधाई हेर्न आएको हो ।
पशुअधिकारवादीहरूले गोरु जुधाएर मनोरञ्जन लिनु गलत भएको भनि आलोचना गरिरहेका बेला एमाले केन्द्रीय नेताहरू हेलिकप्टरमा गोरु जुधाई हेर्न तारुका आएको घटनाको आलोचना भएको छ । नेताहरू हेलिकप्टरमा तारुका आइपुगेपछि स्थानीयले एमालेका नेताहरूको कुरा काटेका छन् ।
स्थानीय बुद्धिजीवी भरत सिग्देलले एमालेका नेताहरू हेलिकप्टर चढेर गोरु जधाइ हेर्न आएकोमा आलोचना गर्दै कम्युनिष्ट मानसिकता कतिसम्म छ भनेर प्रश्न गर्ने बेला आएको बताए । उनले सामाजिक सञ्जालमा व्यंग्यात्मक शैलीमा लेखेका छन्, ‘गोरु जुधेको नदेखेका केही महानुभावहरूको निगाहले आफ्नै घर आँगनमा हेलिकप्टर बसेको र नजिकैबाट उडेको देख्ने अवसर प्राप्त गर्ने समृद्ध मुलुकका भाग्यमानी जनता हामी ।’
गोरु मेला आयोजक समितिका अध्यक्ष शिवबहादुर अधिकारीले कार्यक्रम उद्घाटनका लागि एमालेका महासचिव पोखरेल र केन्द्रीय सदस्य थापासहितका एमालेका नेताहरूलाई हेलिकप्टरमा ल्याएको बताए । एमालेका नेताहरूलाई हेलिकप्टर चढाएर ल्याएकाले गाउँको विकास र पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अध्यक्ष अधिकारीको भनाइ छ ।
हेलिकप्टर चढेर तारुके आइपुगेका महासचिव पोखरेल, केन्द्रीय सदस्य थापासहितका एमालेका नेताहरूले हेलिकप्टरसँग केही बेर फोटो सेशन गरेका थिए ।
‘तारुकाको पौरख, नेपालको गौरव’ नारासहित तारुकामा सोमबार २० हल गोरु जुधाइएको छ । प्रतिस्पर्धामा विजेता भएका गोरुधनीलाई पाँच हजार र उपविजेतालाई तीन हजारसहित प्रमाणपत्र दिइएको छ ।
यसमा तपाइको मत