माओवादीलाई झुक्काउन यसरी हुँदै छ एमालेभित्र तयारी

काठमाडौं । वाम गठबन्धन हुँदै पार्टी एकीकरणसम्म पुगेका एमाले–माओवादी केन्द्रबीच अविश्वासको खाडल बढ्दै गएको छ । एमालेका अध्यक्ष केपी ओलीका क्रियाकलापबाट माओवादी केन्द्रको उच्च नेतृत्व सशंकित भएको हो ।

प्रतिनिधिसभा निर्वाचन अगाडि भएका सहमति कार्यान्वयन गर्न एमालेले आनाकानी गरेपछि माओवादी सशंकित भएको एक नेताले बताए । एमाले र एमालेका नेताहरूका कारण पार्टी एकीकरणको कुरा अगाडि बढ्न नसकेको माओवादीले निष्कर्ष निकालेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठन अगाडि पार्टी एकीकरणको विषय टुंग्याउनुपर्ने प्रस्ताव राखेका थिए । तर, ओलीले विभिन्न बहाना बनाएर त्यसलाई लत्याइदिए ।

प्रधानमन्त्री ओली र एकीरणपछिको पार्टी अध्यक्ष प्रचण्ड हुने समझदारी गर्दै चुनावमा गएपनि एमालेले दुबै पद चाहिने अडान छाडेको छैन । माओवादी नेतृत्व सशंकित भएको हो । ओली अघिल्लो दिन प्रचण्डलाई अध्यक्ष दिन तयार हुन्छन् र भोलिपल्ट ब्याक हुन्छन् । यो कार्यबाट माओवादीका नेताहरू डराएका छन् ।

त्यति मात्रै होइन जनताको बहुदलीय जनवाद र माओवादको राजनीतिक कार्यदिशाका विषय पहिले महाधिवेशनमा लैजाने कुरा थियो । अहिले ओली ‘जबज’लाई आधार बनाउने कुरा गर्दैछन् । माओवादी पूर्वसहमति कार्यान्वयन गर्दै तत्काल एकता गर्नुपर्ने पक्षमा देखिन्छ । एमाले नेताहरू पहिले सरकार बनाइहाल्ने र एकता हेर्दै जाउँला भन्ने पक्षमा छन् ।

सतहमा स्पष्ट विरोध नदेखिए पनि एमालेभित्र एकता प्रकृयालाई हेर्ने दृष्टिकोणमा मतभेद बढदै गएको छ । माधकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, योगेश भट्टराई, घनश्याम भुषाल लगायतका नेताहरू प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष बनाएर अघि बढन तयार छन् । एकतापछि पार्टीमा प्रचण्ड समूह हावी हुने र आफू पछि परिने हो की भन्ने चिन्ता ओली समूहमा छ । यही कारण ओली समूहले एकीकृत पार्टीको अध्यक्षमा प्रचण्डलाई स्वीकार गर्न सकिरहेको छैन ।

ओली पार्टी एकताबारे प्रष्ट बोल्दैनन् । आफू पक्षीय नेताहरू एकतामा खासै रुचि राख्दैनन् । सकेसम्म ओली र उनको किचन क्याबिनेट प्रचण्डलाई कुनै पनि हालतमा अध्यक्ष नदिने, सहअध्यक्ष वा अरु कुनै भूमिका दिएर एकता प्रकृयालाई अघि बढाउने पक्षमा छन् ।

माओवादी केन्द्र अध्यक्ष नपाएसम्म कुनै हालतमा एकता नगर्नेमा पक्षमा छ । यही कारण प्रक्रिया अघि बढन सकेको छैन । जुन शक्तिले प्रचण्डलाई प्रधानमन्त्रीको अफर गरे, तिनै शक्तिले अहिले प्रचण्डलाई पार्टी अध्यक्ष किन दिने ? भनेर एमालेलाई उचालिरहेको माओवादीको आरोप छ । यसले एमालेमा २ धार देखिएको छ । एमालेमा केही नेता माओवादीलाई झुकाउन सकिन्छ कि भन्ने कोशिसमा छन् । एकताबाट भाग्ने मनस्थितिमा ओली पनि छैनन् । तर, ओली गुटभन्दा माथि उठ्न सकेका छैनन् ।

एमाले माओवादी एकता नहोस् भन्ने शक्तिले प्रचण्डलाई पाँच वर्षे प्रधानमन्त्रीको समेत अफर गरिसकेको छ । ओली र प्रचण्डले पछिल्लो समय ‘वान टु वान’ वार्तालाई तिब्रता दिएका छन् । प्रचण्डले यो विषयमा खुलेर बोलेका त छैनन् तर, संकेत गरेका छन् । एकता प्रकृयालाई भाँडेर देशलाई अराजकतातर्फ लैजाने प्रयास भइरहेको भन्दै उनले एकताका बाधकसँग आफू सजग रहेको बताएका छन् ।

Published : Thursday, 2018 February 1, 7:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया