सुष्मालाई भेट्न ओलीद्वारा एमालेभित्रै भेदभाव, रिसाए नेपाल–खनाल

काठमाडौं । एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटवार्तामा नलगेको भनेर असन्तुष्टि जनाएको छ ।

भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा एमालेले बिहीबार सोल्टी होटेलमा रात्रिभोजको आयोजना गरेको थियो । रात्रिभोजमा नेपाल–खनाल समूहका कुनै पनि नेतालाई अध्यक्ष ओलीले बोलाएका थिएनन् । आफूहरूलाई बेवास्ता गरेको भनेर नेपाल–खनाल समूहले असन्तुष्टि जनाएको हो ।

रात्रिभोजसहितको वार्टामा एमालेका अध्यक्ष ओली र स्वराजबीच तीन पटकसम्म एक्ला एक्लै वार्ता भएको थियो । एक्लाएक्लै भेट भएपछि अध्यक्ष ओलीसहित एमाले नेताहरूले स्वराजसँग सामूहिक भेटवार्ता गरेका थिए ।

सामूहिक भेटवार्तामा उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु रिमाल, डा राजन भट्टराई र डा. युवराज खतिवडामात्रै सहभागी थिए ।

स्वराजसँगको भेटवार्तामा आफू निकटका कुनै पनि नेतालाई सहभागी नगराएको भन्दै नेपाल–खनाल समूहले असन्तुष्टि पोखेको छ । नेपाल–खनाल समूह नकिटका नेताहरूले सामाजिक सञ्जालहरूमा खुलेर ओलीको विरोध गरेका छन् । ओलीको राष्ट्रवादको परिभाषा कहाँ गयो भनेर एमालेकै केन्द्रीय नेताहरूले सामाजिक सञ्जालहरूमा लेखेका छन् ।

स्वराजले पनि अध्यक्ष ओलीलाई विशेष महत्व दिएर भेटवार्ता गरेकी थिइन् । स्वराजले आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीले निर्वाचनमा प्राप्त गरेको सफलताका लागि भेटेरै शुभकामना दिन पठाएको उल्लेख गर्दै ओलीलाई बधाई दिएकी छिन् । ओलीले पनि स्वराजको स्वागतमा रात्रिभोज राखेर ठूलो सम्मान गरेका छन् ।

काठमाडौं आएलगत्तै राजनीतिक भेटवार्ता सुरु गरेकी उनले पहिलो भेटवार्ता एमाले अध्यक्ष ओलीसँग गरेकी थिइन । त्यसक्रममा मन्त्री स्वराजले प्रधानमन्त्री मोदीले दुईपटक गरेको टेलिफोन वार्ताको प्रसंग कोट्याउँदै उनको सन्देश भेटेरै सुनाउन आएको बताएको एक नेताले बताए ।

Published : Friday, 2018 February 2, 1:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया