ओलीको सरकारमा जाने उपेन्द्रको योजनामाथि सहध्यक्षद्वारा हमला

काठमाडौं । संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले केन्द्रीय सरकारमा सहभागी हुने सम्भावना ज्यादै न्यून रहेको बताएका छन् । ‘हामी प्रतिपक्षमा रहने सम्भावना बढी छ । किनभने हाम्रा माग मुद्दाका सन्दर्भमा एमालेले आजसम्म पनि स्पष्ट जवाफ दिन सकेको छैन’, श्रेष्ठले भने ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले एमालेले आफूलाई मात्रै जनमत प्राप्त भएको ठानेर एकलौटी तरिकाले देश चलाउन खोज्यो भने दुर्घटना हुने चेतावनी दिए । वैचारिक रुपमा माओवादी केन्द्रसँग सामिप्यता भए पनि एमाले आफ्नै हठमा कायम रहेको श्रेष्ठको भनाई छ ।

एमालेले हिजोको जस्तै एकल जातिय राष्ट्रवादको कुरा गरेर देशलाई जातिवादी र नश्लवादी ढंगले अगाडि बढाउन खोज्यो भने मुठभेड हुने चेतावनी श्रेष्ठले दिएका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ओलीसँग सत्तासमीकरणका बारेमा कुराकानी चलाइरहेका बेला उनै दलको सहअध्यक्ष श्रेष्ठलेको पछिल्लो अभिव्यक्तिले ओली र यादवलाई धक्का लाग्न सक्छ ।

‘अबका दिनमा संविधानलाई दिपावली गर्ने र जलाउने पक्षबीचको मुठभेड अन्त्य गर्नुपर्छ । यसले निकास पाउनुपर्छ’, उनले भने ।

संविधान संशोधन गरेर नयाँ ढंगले अगाडि बढ्ने कुरामा सुनिश्चित भएको खण्डमा आफूहरु सरकारमा जान सक्ने श्रेष्ठले बताए ।

एमाले र माओवादीबीच एकता हुनुपर्नेमा जोड दिदै श्रेष्ठले स्थिर सरकार दिनुपर्ने बताए । ‘पार्टी एकता भएन भने जनताको लागि धोका हुन्छ । यस्तो अवस्थामा एमाले र माओवादीबीच सरकार पनि बन्दैन’, श्रेष्ठले भने ।

दुई दलबीचाको एकता पनि नहुने र संयुक्त सरकार पनि नबन्ने अवस्था आयो भने आफूहरले विकल्प दिन सक्ने श्रेष्ठको भनाई छ ।

माग र मुद्दाहरू मिल्नेको बिचमा प्राकृतिक गठबन्धन गरेर सरकार बनाउन आफूहरु तयार रहेको उनको भनाई थियो ।

‘माओवादी केन्द्र, फोरम, नेपाली कांग्रेस, राजपा लगायतका दलहरु मिलेर सरकार बनाउनुपर्ने अवस्था आउन सक्छ’, उनले भने ।

संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी मिलेर प्रदेश नम्बर २ मा सरकार बनाउने विषयमा सहमति भएको छ । श्रेष्ठले प्रदेशको मुख्यमन्त्री फोरमका नेता लालबाबु राउत नै बन्ने जिकिर गरेका छन् ।

Published : Sunday, 2018 February 11, 10:57 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया