एमालेको स्थायी समितिमा ओलीको कसले लियो यसरी सातो ?

काठमाडौं । ‘पार्टी जीवनमा तपाईको जति योगदान छ, त्यति मेरो पनि छ । तपाई अहिले अध्यक्ष हुनुहुन्छ म उपाध्यक्ष छु । तर, तपाई अध्यक्षको हैसियतमा पार्टी चलाउँदै हुनुहुन्न । गुट चलाईरहनु भएको छ । गुटमात्रै चलाउने हो कि पार्टी चलाउने हो त्यो तपाईले आज प्रष्ट पार्नु पर्छ’, आइतवार एमाले स्थायी समितिको बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्ष केपी ओलीमाथि प्रहार गरेका शब्द हुन् यी ।

प्रदेश नम्वर ३ को संसदीय दलमा पार्टी अध्यक्ष ओलीले प्रत्येक सांसदलाई टेलिफान गरी आफूलाई हराएको भन्दै उपाध्यक्ष शाक्यले स्थायी समिति बैठकमा आक्रोस पोखेकी थिइन । ‘तपाई सधै समानता र न्यायका कुरा गर्नुहुन्छ तर, गुटका नाममा अत्याचार पनि गर्दै हुनुहुन्छ’, बैठकमा शाक्यले भनिन् । शाक्य आक्रोसित भएपछि बैठकमा रहेका सवै नेताहरु केही समय मौन बसेको स्रोतले बताएको छ ।

केही समयपछि अध्यक्ष ओलीले शाक्यलाई सम्झाउँदै निर्वाचनमा नजान आफुले सुझाव दिएको बताएका थिए । ‘मैले तपाईलाई निवासमै बोलाएर निर्वाचनमा नजानोस भनेको थिए, तपाईले मान्नु भएन’, ओलीले नरम शब्दमा जवाफ दिएका थिए । ओलीको जवाफपछि माधव नेपाल समूहका नेताहरूले अध्यक्ष हैसियतमा पार्टी भन्दा गुट चलाएको आरोप लगाएका थिए । अन्य स्थायी समिति सदस्यहरूलाई कडा जवाफ दिएपनि शाक्यसँग भने ओली नरमरुपमा प्रस्तुत भएका थिए ।

आइतवार समानुपातिक सांसदको सूची अनुमोदन गर्न एमाले स्थायी समितिको बैठक बोलाइएको थियो । शनिवार ओली निवास बालकोटमा बोलाइएको बैठकमा नेपाल पक्षधर नेताहरूले उपस्थित नहुने जनाएपछि आइतवार पार्टी मुख्यालय धुम्वाराहीमा बैठक बसेको थियो ।

बैठकमा शाक्यले कडा शब्दमा अध्यक्षको आलोचना गरेपछि नेता माधव नेपाल बीचमै उठेर हिडेका थिए । उनले बैठकमा कुनैपनि शब्द नवोलेको स्रोतले बताएको छ ।

Published : Monday, 2018 February 12, 9:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया