संविधान मिच्न तम्सिए कम्युनिष्टहरू, सपथ विनै प्रधानमन्त्री बन्ने दाउँमा ओली

काठमाडौं । एमाले र माओवादी केन्द्रले शुक्रबार सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश गर्ने तयारी गरेका छन् । निर्वाचनको सबै परिणाम आइसकेकाले दुई दल मिलेर सरकार बनाउने तयारी सुरु गरेका हुन ।

सांसदको सपथ भइनसकेकाले कतिपयले अहिलेनै नयाँ सरकार गठन हुन नसक्ने आशंका समेत व्यक्त गरेका छन् । संविधानमा प्रधानमन्त्री हुन प्रतिनिधिसभाको सदस्य भएको हुनुपर्ने प्रावधान छ ।

प्रतिनिधिसभाको सदस्यले सांसदका रुपमा काम सुरु गर्न सपथ लिनुपर्ने कतिपय कानूनविद्को भनाई छ । कतिपयले भने निर्वाचित भइसकेको प्रमाणपत्र निर्वाचन आयोगले दिइसकेकाले सपथ पछि लिएपनि हुने तर्क गरेका छन् ।

पूर्व राष्ट्रपति रामवरण यादवका कानूनी सल्लाहकार समेत रहिसकेका कानूनविद् सूर्य ढुंगेल प्रधानमन्त्री हुन प्रतिनिधिसभाको सदस्य हुनैपर्ने भएकाले त्यसअंघि सपथ लिनुपर्ने बताउँछन् । अहिलेकै प्रधानमन्त्रीले संसद बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र १–२ दिनमै संसद बोलाएर सपथ लिएपछि मात्र नयाँ प्रधानमन्त्रीको प्रक्रिया सुरु गर्नु उपयुक्त हुने उनको तर्क छ ।

राष्ट्रियसभाका सांसद एवं कानुनवीद राधेश्याम अधिकारी सपथ बाध्यकारी नभएपनि नैतिकतासँग जोडिने बताउँछन् । सांसदको सपथ नलिई प्रधानमन्त्री बन्न कानूनी अडचन नदेखिएपनि सविधानको भावना भने उल्लंघन हुने उनको भनाई छ ।

सरकार गठनको तयारीमा रहेका दल सम्वद्ध कानूनविदको भनाई भने फरक छ । निर्वाचन आयोगले सांसदको प्रभाणपत्र दिइसकेकाले प्रधानमन्त्री बन्न सपथले नरोक्ने उनीहरूको तर्क छ ।

एमालेका नेता पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ सपथको विवाद सरकार अझै केही समय लम्वयाउन सकिन्छ कि भन्ने मनसायले आएकोे दावी गर्छन् ।

विगतमा गिरजाप्रसाद कोइरालाको सरकार सपथ नगरी गठन भएको नजिर संवैधानिक ब्यवस्था सबै हिसावले नयाँ सरकार गठन गर्न वाधा नभएको उनको भनाई छ ।

सपथ लिनैपर्ने अवस्था सृजना भए नयाँ सरकार गठन प्रक्रिया केही लम्विने निश्चित छ । निर्वाचन आयोगले संघीय संसदको सम्पुर्ण परिणाम बुझाएको एक महिना भित्र संसद बैठक बस्ने प्रावधान छ ।

संसद बैठक आव्हान गर्दा देशका विभिन्न भागमा रहेका सांसदहरुलाई बैठकमा आउन कम्तिमा १५ दिन समय लाग्ने अनुमान सहित विगतमा १५ दिनको बाटो खर्च दिएर संसद अब्हान गर्ने प्रचलन छ ।

सांसदहरूको सपथ ग्रहण नभईकन नयाँ सरकार गठन हुन सक्दैन भन्ने मान्यता राख्ने हो भने बर्तमान सरकार अझै कम्तिमा १५ देखी २० दिन टिक्ने संभावना छ ।

सरकार गठनका लागि सांसदको सपथ आवश्यक छैन भनेर मान्ने हो भने अबको केही दिन भित्रै वाम गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार भनि चर्चा गरिएका एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्न सक्नेछन् ।

Published : Wednesday, 2018 February 14, 9:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया