प्रचण्डका अंगरक्षकले पाए नयाँ जिम्मेवारी

काठमाडौं । बलात्कार घटनामा आर्थिक प्रलोभनमा परी पीडित र पीडकको मिलापत्र गरेको आरोपमा महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी तिलक भारतीलाई प्रहरी प्रधान कार्यालय तानिएपछि रिक्त रहेको ठाउँमा डिएसपी दानबहादुर मल्लको पोस्टिङ भएको छ ।

मल्ल लामो समयदेखि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अंगरक्षक थिए ।

लैनचौर, बौद्ध, बानेश्वरसँगै आफ्नो पोस्टिङका लागि सोर्सफोर्स लगाउने ठाउँहरुमा दरबारमार्ग वृत्त पनि पर्छ । प्रचण्डले यसअघि नै मल्ललाई दरबारमार्ग वृत्तमा पठाउन खोजेका थिए । तर डिएसपी भारतीले बाजी मारे । भारती तत्कालीन उपप्रधानमन्त्री कृष्णबहादुर महराका ज्वाइँ नाता पर्ने हुन् ।

सोही घटनामा इन्स्पेक्टर लक्ष्मणसिंह ठकुरीसमेतलाई कारबाही भएको छ । ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणको थुनामा राखिएको छ ।

काठमाडौंको होटेल ल्याण्डमार्कमा एक युवतीलाई तीन जना युवाले सामूहिक बलात्कार गरेपछि युवती उजुरी दिन दरवारमार्ग वृत्त पुगेकी थिइन् । तर, वृत्तले उजुरी दर्ता नै नगरी घटना आर्थिक लेनदेनमा मिलाएको थियो ।

घटनापछि प्रहरीले घटना बारे अनुसन्धान गर्ने दुई छुट्टा छुटै छानविन टोली बनाएको थियो । टोलीले प्रहरी पनि दोषी रहेको प्रतिवेदन दिएको छ । डिएसपी भारती भने घटनाको दिन आफू विदामा रहेको दावी गर्दै आएका छन् ।

Published : Monday, 2018 February 19, 11:18 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया