एमाले–माओवादी एकीकरणबाट चीन खुसी

काठमाडौं । एमाले–माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सहमति भएको अर्को दिन चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री येझाऊले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरी दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकीकरणको स्वागत गरेका छन् ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा मंगलबार बिहान भएका भेटका अवसरमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रम तथा चीन र नेपालका बीच आपसी सहयोगका बारेमा छलफल भएको हो ।

उपमन्त्री येझाऊले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि ७ बुँदे सहमतिका बारेमा जिज्ञासा राखेको दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि पार्टी एकता गर्ने निर्णयमा दुबै पार्टी पुगेको बताउँदै यो नेपाली इतिहासमा दूरगामी परिघटना भएको उल्लेख गरे ।

अध्यक्ष प्रचण्डले आर्थिक विकास गरेर समाजवादको लामो यात्रामा जाने उद्देश्यसाथ सुरु भएको एकताले नेपाली विशेषता अनुरुपको समाजवादको सैद्धान्तिक कार्यदिशा निर्माण गर्ने समेत बताए ।

चिनियाँ उपमन्त्रीले दुई पार्टीको एकीकरणको स्वागत गर्दै यो एकताले राजनीतिक स्थायित्व र विकासका निम्ति धेरै ठूलो काम गर्ने बताए ।

चीन सरकारसँग यसअघि भएका सम्झौताहरूलाई व्यवहारमा रुपान्तरण गर्ने बताउँदै उनले एकीकृत पार्टीलाई चीनको तर्फबाट पूर्ण सहयोग हुने प्रतिबद्धता व्यक्त गरे ।

नेपालको स्थायित्व, समृद्धि र विकासका लागि चीन सरकारले नेपाल सरकारलाई विगतदेखि पुर्याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै भविष्यमा झन ठूलो सहयोग गर्ने समेत उनले बताए ।

भेटका अवसरमा उपमन्त्री येझाऊले अध्यक्ष प्रचण्डलाई चिनियाँ राष्ट्रपति शी जिनपिङले लेख्नुभएको पुस्तक “द गभर्नेन्स अफ चाइना–२” हस्तान्तरण गरेका थिए ।

Published : Tuesday, 2018 February 20, 12:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया