यसरी सिध्याए ‘प्रचण्ड’ले आफ्नै दलका नेताहरूको राजनीति

काठमाडौं । माओवादीले एमालेसँग मिल्ने निर्णय गरेसँगै माओवादी केन्द्रका थुप्रै केन्द्रीय नेताहरूले असन्तुष्टि जनाएका छन् ।

गोपाल किराती, विश्वभक्त दुलाल, लोकेन्द्र विष्ट मगरसहितका नेताहरूले माओवादी पार्टीलाई पुनर्गठन गर्ने जनाएका छन् । अध्यक्ष प्रचण्डले माओवादी पार्टीका होनहार नेता तथा कार्यकर्ताहरूको राजनीति सिध्याइदिएको उनीहरुले आरोप लगाएका हुन् ।

साढे दुई–साढे दुई वर्ष प्रधानमन्त्री पद बाँडेर पार्टी एकीकरण गर्न पुगेका प्रचण्डको व्यक्तिवादी सोच र लोभका कारण पार्टी एमालेमा बिलय भएको उनीहरूको आरोप छ । हुन पनि संसदको तेस्रो ठूलो दल बनेको माओवादी केन्द्रका शीर्ष नेताहरूले खासै अडान नराखेर एमालेसँग मिलेका छन् ।

निर्वाचनका बेला ६०–४० को भागबण्डा गरेका एमाले र माओवादीले निर्वाचन सम्पन्न भएपछि ७०–३० को भागबण्डा गर्न पुगेका थिए । विशेष गरेर प्रचण्डलाई प्रधानमन्त्री बन्ने रहरका कारण हतारमा माओवादी पार्टीलाई एमालेमा बिलय गराएको आरोप छ ।

प्रचण्डले माओवादीको नेतृत्व अब आफूभन्दा बाहिर नजाओस् भनेरै एमालेमा पार्टीलाई बिसर्जन गरेको नेता गोपाल किरातीले बताए । ‘प्रचण्डलाई मैले नेता मान्थेँ’, किरातीले भने,‘उहाँ अब नेता रहनु भएन । केपी ओलीको पुच्छर बन्न जानु भएको छ ।’

आफ्नो नेतृत्वलाई अविश्वास गरेकै कारण माओवादी पार्टीको यो हबिगति भएको लोकेन्द्र विष्ट मगरले बताए ।

‘जनयुद्धको नेतृत्व गरेको प्रचण्डमा यति छिटो बिचलन आउँछ भनेर सोचेको पनि थिईंन’, मगरले भने,‘पार्टीलाई विलय नै गराउनु थियो भने निर्वाचन अगाडि गरेको भए भैहाल्थ्यो नि ?’ उनले भने, ‘प्रधानमन्त्री बन्न र माओवादी पार्टीको नेतृत्व आफूभन्दा अरु नेतालाई नजाओस् भन्ने मानसिकताबाट प्रचण्ड ग्रसित रहेको प्रमाणित भएको छ । माओवादी हाँक्ने एकसे एक नेताहरू पार्टीमा थिए ।’

एमालेसँग भएको सात बुँदामा राजनीतिक कार्यदिशादेखि सबै कुराहरू एमालेले भने जस्तै रहेका छन् । माओवादीको जनयुद्ध भन्ने शब्दावली कतै राखिएको छैन । बरु जबजले स्थान पाएको छ ।

Published : Thursday, 2018 February 22, 7:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया