दाङकी युवती बसभित्र बलात्कृत
दमौली । फागुन ४ गते २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले बसका चालक तथा सहचालकविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरेको छ ।
काठमाडौं जाने भनी दाङको लमहीबाट ना ५ ख ५३६८ नम्बरको बसका चालक तथा सहचालकले काठमाडौं नलगी तनहुँको आँबुखैरेनी गाउँपालिका वडा २ ऐनापहरामा लगेर बसभित्रै बलात्कार गरेको उजुरी पीडितले दिएकी थिइन् ।
सुरुमा बसमा धेरै मानिस भएको तर, मुग्लिनमा सबै झरेपछि बस मोडेर आँबुखैरेनीको ऐनापहरातर्फ मोडेको अनुसन्धानबाट खुलेको छ । युवतीले बस मोडेको थाहा नपाउँदा फसेको प्रहरीको भनाइ छ ।
युवतीले घटनाको भोलिपल्ट मौखिक उजुरी दिएपछि तनहुँ प्रहरीले दोषीको खोजतलास थालेको थियो । चालक र सह–चालक दुवैलाई चितवनको नारायणगढबाट पक्रिएको प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए ।
खोजतलास पश्चात बसका चालक लमजुङ जिल्लाको राईनास नगरपालिका ८ घर बताउने ३३ वर्षका बिष्णु सापकोटा र सह–चालक दाङ जिल्ला बिजौरिया– १ स्थायी घर भएका ३४ वर्षीय वेदराज डाँगीविरुद्ध जर्बजस्ती करणी मुद्दा दर्ता गरी अनुसन्धानका लागि थुनामा राखिएको प्रहरी उपरीक्षक जोशीले बताए ।
उनीहरूविरुद्ध तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जोशीले बताए । साँझको समयमा चालक र सह–चालकले बन्धक बनाएर बलात्कार गरेपछि युवतीलाई ऐनापहरामा छोडेर भागेका थिए ।
यसमा तपाइको मत