गुण्डा नाइके लामाले मुचुल्कामा हस्ताक्षर गरेनन्
काठमाडौं । गोली प्रहार भएपछि पक्राउ परेका गुण्डा नाइके गणेश लामाले प्रहरी मुचुल्कामा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
बुधबार राति प्रहरीले लामालाई काठमाडौंको गौशालाबाट हतियारसहित पक्राउ गरेको थियो । तर, लामाले उक्त हतियार आफ्नो नभएको बताउँदै प्रहरी मुचुल्कामा हस्ताक्षर नगरेको प्रहरी स्रोतले जनाएको छ ।
बुधबार गौशाला पिंगलास्थानस्थित पशुपति भिजन कम्प्लेक्स क्षेत्रबाट अटोमेटिक चाइनिज पेस्तोल र त्यही पेस्तोलमा लाग्ने ६ राउण्ड गोलीसहित उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
घटनास्थलबाट १ राउण्ड गोलीको खोका र लामाले प्रयोग गर्दै आएको ल्याण्डक्रुजर बा ३ च १७२ नम्बरको गाडी पनि बरामद भएको थियो ।
लामाले बरामद गरिएको पेस्तोल आफ्नो नभएको र आफूमाथि गोली प्रहार गर्ने व्यक्तिबाट खोसेको प्रारम्भीक बयान दिएका छन् ।
बिहीबार लामालाई काठमाडौं जिल्ला अदालतबाट म्याद थप गराई हतियार तथा खरखजाना ऐन २०१९ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले बताए ।
नेपाली कांग्रेसका नेतासमेत रहेका लामा पछिल्लो डेढ दशकदेखि गुण्डागर्दीमा संग्लन व्यक्ति हुन् । काभ्रेबाट काठमाडौं आएका लामाले लामो समयसम्म अर्का गुण्डा नाइके दीपक मनाङेको समूहमा रहेर काम गरेका थिए । पछि आफ्नै समूह बनाएका लामाको टोलीमा २० जनासम्म गुण्डाहरू रहेको प्रहरी स्रोत बताउँछ ।
२०६५ सालमा उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकबाट राजनीतिमा प्रवेश गरेका थिए । विभिन्न होटल, रेष्टुरेन्ट र क्रसर उद्योगमा लगानी गरेका लामा पछिल्लो एक वर्षयता गुण्डागर्दीको क्षेत्रमा चर्चामा थिएनन् । फोरम र कांग्रेसबीच पार्टी एकता भएपछि लामा २०७४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा काभ्रेबाट चुनाव लडेका थिए ।
यसमा तपाइको मत