सिआइबीलाई ठूलो सफलता
काठमाडौं । तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्षसहित १३ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार उनीहरूलाई पक्राउ गरेको हो । नेपाल क्रेडिट एण्ड कमर्स बैक (एनसिसी)मा मर्जर हुने सहमति पत्रमा हस्ताक्षर गरी सकेपछि उनीहरू मिलेर एपेक्स डेभेलपमेन्ट बैंकका दरबार मार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरूबाट अनियमित प्रक्रियाबाट कर्जा प्रवाह गरी बैकलाई एक अर्ब ५० करोड ९६ लाख ३३ हजार ९ सय ८४ रुपँैया हानी पु¥याएको भेटिएपछि उनीहरूलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ ।
पक्राउ पर्नेमा तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष, विष्णुप्रसाद धिताल, सञ्चालक इच्छाबहादुर गुरुङ, सञ्चालक सुवर्णराज भण्डारी, मधुवनलाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषिराज भट्ट, दुर्गादत्त जोशी, वरिष्ठ प्रबन्धक रामचन्द्र बसौला, विकास श्रेष्ठ, सागर नेउपाने, मानबहादुर राउत, विनितमणि उपाध्याय, मोहन खरेल, सुदीप थापा छन् ।
उनीहरुलाई शुक्रबार राजधानीका विभिन्न स्थान र एनसिसी बैंक पुतलीसडकबाट पक्राउ गरिएको हो ।
बैक गाभिने भएपछि उनीहरू मिलेर कमसल धितो भिरालो पाखो बारी, बाटो नपुगेको जग्गाको अधीक मूल्यांकन गरी कर्जा लगानी गरेको अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ ।
धितो निरीक्षण कर्जा निर्णय जग्गा किनबेच, रोक्का, कर्जा तमसुक,कर्जा प्रवाहसमेत एकै दिनमा गरेको अनुसन्धानबाट खुलेको सिआइबीले जनाएको छ ।
ठगीबारे अनुसन्धान गर्न नेपाल राष्ट्र बैकले सिआइबीलाई जिम्मा दिएको थियो । पक्राउ परेका १३ जनालाई सिआइबीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
यसमा तपाइको मत