देउवा–पौडेलको बचाउमा आए दोस्रो तहका नेता
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आलोचना भइरहेका बेला उनको समूहले वरिष्ठ नेता रामचन्द्र पौडेलपनि आलोचनाबाट भाग्न नमिल्ने जनाएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आउन एक दिन बाँकी रहेका बेला नेताहरूबीच निर्वाचन पराजयको जसअपजस लिने बारेमा सार्वजनिक रुपमै आरोप प्रत्यारोप भइरहेको छ । देउवा समूहका कारण कांग्रेसले निर्वाचनमा पराजय भोग्नु परेको आरोप पौडेल समूहको छ ।
तर, पौडेल समूहको आरोपलाई देउवा समूहले अस्वीकार गर्दै आएको छ । नेपाली कांग्रेसका नेता रमेश लेखकले देउवाका कारण मात्रै पार्टीलाई नोक्सानी नभएको दाबी गरे ।
‘कांग्रेसको पराजयमा शेरबहादुर देउवालाई मात्रै दोष दिएर वरिष्ठ नेता रामचन्द्र पौडेल पन्छिन पाइँदैन’, नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै लेखकले भने, ‘पार्टीमा बागबण्डा खोज्ने सोँच जस्तो परिणाम नआएपछि सभापति देउवालाई मात्रै आरोप लगाउन पाइन्छ ?’
सभापति देउवा जत्तिकै दोषीको भागिदार वरिष्ठ नेता पौडेल पनि रहेको नेता लेखकले दाबी गरे । ‘पौडेलजीहरू जसरी सडकमा आउनु भएको छ त्यसबाट चोखिन खोज्नुभएको छ । पार्टीभित्र भाग खोज्ने अहिले आएर दोषभरि देउवालाई दिने । उहाँहरूको चालामाला ठीक छैन’, उनले भने, ‘कांग्रेस पराजयको हिसाब किताब खोज्ने हो भने पौडेलजीको पनि उत्तिकै भूमिका छ ।’
शुक्रबारदेखि सुरु हुन लागेको केन्द्रीय कार्यसमिति बैठकमा कांग्रेसले किन र कसरी पराजय भोग्नु परेको हो ? त्यसका बारेमा खोजबिन हुने लेखकले बताए । सबै जिज्ञासाको उत्तार खोज्नकै लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको उनको भनाइ छ ।
वरिष्ठ नेता पौडेल समूहले कांग्रेस पराजयको सबै दोष देउवालाई दिँदै आएको छ । तर, देउवाले समूहले पौडेल समूहलाई पार्टी कब्जा गर्नका लागि पराजयको आरोप लगाउँदै आएको छ । देउवा समूहविरुद्ध पौडेल समूहले शुक्रबारदेखि सुरु हुने बैठकमा घेराबन्दी गरेर विशेष महाधिवेशन वा महासमिति बैठकका लागि दवाव दिने योजना बनाएको छ ।
पौडेल समूहका डा.रामशरण महत, अर्जुन नरसिंह केसी, प्रकाशमान सिंह, गगन थापा, प्रदीप पौडेलसहितका नेताहरूले योजना बनाएको एक नेताले बताए ।
उता, पौडेल समूहको प्रतिवाद गर्न रमेश लेखक, बालकृष्ण खाँडा, डा.प्रकाश शरण महत, मीन विश्वकर्मा, विश्वप्रकाश शर्माहरूले पनि तयारी गरेका छन् ।
यसमा तपाइको मत