कांग्रेसका डा.कोइरालाले खोलिदिए एमालेको विकास विरोधी मुखुण्डो
काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाले एमालेको विरोधका कारण रोकिएको अरुण तेस्रो जलविद्युत आयोजनालाई २३ वर्षपछि प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा नयाँदिल्लीबाट शिलान्याश हुन लागेकोमा खुसी व्यक्त गरेका छन् ।
नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता डा.कोइरालाले ढिलो भएपनि एमालेको बुद्धि पलाएकोमा धन्यावाद दिए । एमाले विकास विरोधी पार्टी रहेको यो निर्णय र विरोधले पनि देखाएको डा.कोइरालाको भनाइ छ ।
०५१ सालमा ९ सय मेगावाटको अरुण तेस्रो आयोजना वातावरणमा प्रभाव पर्ने बहानामा त्यस बेला एमालेले रोको थियो । जसका कारण नेपालले अहिले पनि लोडसेडिङ व्यहोर्नु परिरहेको डा.कोइरालाको भनाइ छ । उनले भने, ‘त्यस बेला वातावरण बिग्रिन्छ भनेर विरोध गर्ने एमाले र वातावरणविदहरू अहिले कता हराए ?’
‘२३ वर्ष अगाडि नेपाली कांग्रेसको सरकारले अरुण तेस्रो जलविद्युत आयोजना सुरु गर्न लाग्दा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र नेता केपी ओलीले विश्व बैंकलाई चिठी पठाएर ऋण रोकिदिएका थिए । त्यसपछि विश्व बैंकले अरुण तेस्रोबाट हात झिक्यो’, डा.कोइरालाले भने, ‘अहिले आएर एमालेको बुद्धि पलाएको छ । अरुण तेस्रोको शिलान्याश गर्नु अत्यन्तै राम्रो कुरा हो ।’
नेपालमा रेल चलाउने कुरा नेपाली कांग्रेसको नेतृत्वकै सरकारका पालमा भएको डा.कोइरालाले बताए । ‘केपी ओलीजीको रेल केरुङबाट काठमाडौं र लुम्बिनीसम्म ल्याउने भनेको हो । बरु त्यसलाई उहाँले कार्यान्वयन गर्नुपर्छ’, डा.कोइरालाले भने, ‘तराईमा चल्ने रेल नेपाली कांग्रेसकै पालमा भारतसँग सम्झौता भएको हो । उहाँले अहिले आएर दाबी गर्नुको कुनै तुक छैन । बरु ओलीले रेललाई छिटो कसरी ल्याउने हो त्यसबारेमा भारतसँग कुरा गर्नुपर्छ ।’
यसमा तपाइको मत