यी हुन् ओलीका उत्तराधिकारी पावरफुल नेता, घटुवामा परे पोखरेल

काठमाडौं । दुई ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्र मिलेर बनेको ‘नेपाल कम्युनिष्ट पार्टी’मा सबैभन्दा धेरै फाइफा एमालेका तत्कालीन उपमहासचिव विष्णु पौडेललाई भएको छ ।

केपी ओलीका विश्वासपात्रका रुपमा पौडेल उदाएका छन् । नौँ सदस्यीय हाइकमाण्डमा निर्वाध पर्न सफल भएका पौडेललाई ओलीले महासचिव बनाएर पुरस्कृत गरेका छन् । उनीसँग पुरस्कृत हुनेमा माओवादीका नारायणकाजी श्रेष्ठ र एमालेका माधवकुमार नेपाल रहेका छन् । श्रेष्ठले प्रवक्ताको जिम्मेवारी पाएका छन् । नेपालले पहिलो नम्बरको परिष्ठतम् नेताको पद पाएका छन् ।

पौडेलले एमालेका सबै नेताहरूलाई उछिनेर महासचिव जस्तो पद पाउनुलाई सबैले महत्वका साथ हेरेका छन् । एमालेका एक नेताले भने, ‘अध्यक्ष केपी ओलीज्यूले विष्णु पौडेलजीलाई यति धेरै विश्वास गर्नुभएको रहेछ । अब पौडेल नै ओलीको उत्तराधिकारी हुन् ।’

स्रोतका अनुसार ओलीले नेपाल कम्युनिष्ट पार्टीको भावी अध्यक्षका रुपमा पौडेललाई अगाडि बढाउने संकेत गरेका छन् । नेकपाको भावी अध्यक्ष बन्ने सपना देखेका प्रचण्डलाई पौडेलका कारण चुनौती थपिने पक्का छ ।

ओलीले धेरै मन नपाराएका झलनाथ खनाललाई वरीयतामा नेता नेपालभन्दा पछाडि राखेका छन् । ओलीको कट्टर आलोचक खनाललाई पार्टी एकीकरणले धक्का दिएको छ ।

पार्टीभन्दा बढी व्यक्तिगत कामका लागि सक्रिय हुने गरेको आरोप खनालमाथि छ । खनाल पार्टी एकता घोषणा कार्यक्रममा पनि सहभागी भएनन् । बरु चीनतिर प्रस्थान गरे ।

ओलीले एमालेका महासचिव ईश्वर पोखरेललाई घटुवा गरेका छन् । पोखरेल अब स्थायी समिति सदस्य मात्रै रहनेछन् । आफूलाई एमालेको भावी अध्यक्षका रुपमा प्रस्तुत गर्दै आएका पोखरेलले मन्त्री बन्न लोभ देखाउनुका साथै एमाले–माओवादीबीचको एकता प्रक्रिया भाँड्न पटक–पटक भूमिका खेलेका थिए । त्यसको बदला ओली–प्रचण्डले महासचिव पद खोसेर लिएका छन् ।

पार्टी एकीकरणपछि धोका पाउनेमा एमालेका शंकर पोखरेल पनि छन् । पोखरेलाई कुनै जिम्मेवारी दिइएको छैन । ओलीका विश्वासपात्रका रुपमा चिनिएका पोखरेल प्रदेश ५ को मुख्यमन्त्री बनेसँग छायाँमा परेका छन् । उनको पनि राजनीतिक यात्रा संकटमा परेको एमालेका एक नेताले बताए ।

Published : Friday, 2018 May 18, 2:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया