‘गोरे’को बयानले यी भिभिआइपी नेता र पुलिसहरूको सातो गयो

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त ठानिएका चुडामणि उप्रेती ‘गोरे’लाई गृह मन्त्रालयमा सार्वजनिक गरिएको छ ।

नेपाल सरकारको २०७४ चैत २० गतेको मन्त्रिपरिषद्को निर्णय र संगठित अपराध ऐन २०७० को दफा १२ अनुसार सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित विशेष अनुसन्धान टोलीले गोरेलाई पक्राउ गरी पत्रकार सम्मेलनमार्फत मंगलबार सार्वजनिक गरेको हो ।

साढे ३३ किलो सुनका मुख्य अभियुक्त गोरे फरार भएपछि नेपाल र छिमेकी मुलुक भारतमा गरिएको अनुसन्धानबाट उनी काठमाडौं आएको सूचनाका आधारमा मंगलबार बिहान ५ः३४ मा काठमाडौं महानगरपालिका– ८ गौरीघाटबाट पक्राउ गरिएको संयोजक पौडेलले जानकारी दिए ।

यसअघि भारतबाट पक्राउ गरिएको भनिए पनि अनुसन्धान टोलीले गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ ।

३३ किलो सुनका मुख्य आरोपी भनिएका गोरेले आत्मसमर्पणका लागि राष्ट्रिय मानवअधिकार आयोगमा पनि निवेदन दिएका थिए ।

अधिवक्तामार्फत वारेसनामा सहित निवेदनमा गोरेले आफ्नो ज्यानको खतरा रहेको र न्यायालय समक्ष आत्मसमर्पण गरेर सबै सत्यतथ्य जानकारी गराउने उल्लेख गरेका थिए । तर, नाटकीय रुपमा छानविन समितिले पत्रकार सम्मेलन गरेर गोरेलाई पक्राउ गरेको जनाएको छ ।

गोरेले आफू सुन भरिया मात्रै रहेको बयान समिति समक्ष दिएका छन् । गोरेले नेतादेखि उच्च प्रहरी अधिकारी र अन्य भिभिआइपीहरूको नाम समेत लिएको उच्च स्रोतले जनाएको छ । गोरे पक्राउ परेपछि सुनकाण्डमा संलग्नहरूको होस उडेको छ ।

यस प्रकरणमा विसं २०७५ वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६५ जनाको नाममा मुद्दा दर्ता गरिएकामा ३२ जनालाई अदालतमा उपस्थिति गराइसकिएको र अरू ३३ जना अहिलेसम्म पनि फरार रहेको पौडेलले बताए ।

संयोजक पौडेलले घटना जेरीजस्तै जेलिएकाले गम्भीर रूपमा अनुसन्धान भइरहेको जानकारी दिए । अनुसन्धानका लागि गठित टोलीलाई ४५ दिनको म्याद दिइए पनि टोलीले अनुसन्धान पूरा गरी नसकेकाले सरकारले टोलीको म्याद जेठ मसान्तसम्मका लागि थप गरेको छ ।

संयोजक पौडेलले सुन काण्डका मुख्य अभियुक्त गोरे समातिएकाले गोरेसँगको बयानबाट थप अनुुसन्धान गरिने बताए ।

माघ अन्तिम साता युएइबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायव भयो । सुन तस्करीमा संलग्न मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँगै त्यो सुन हराएको पुष्टि भयो ।

घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको भन्दै छानबिनका क्रममा पूर्व प्रहरी नायब महानिरीक्षक गोविन्द निरौला, प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनी, प्रहरी उपरीक्षक विकासराज खनाल, प्रहरी नायब उपरीक्षक प्रजित केसी, प्रहरी नायब निरीक्षक बालकृष्ण सञ्जेल पक्राउ परिसकेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक श्याम खत्री अझै फरार छन् । सुन काण्डका अभियुक्तमाथि जिल्ला अदालत मोरङमा बहस भइरहेको छ ।

Published : Tuesday, 2018 May 22, 8:25 pm

1 प्रतिकृया प्राप्त “‘गोरे’को बयानले यी भिभिआइपी नेता र पुलिसहरूको सातो गयो”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया