कांग्रेसको झण्डा फेर्न प्रस्ताव, यस्तो बन्नेछ नयाँ झण्डा

काठमाडौं । नेपाली कांग्रेसको झण्डालाई मरिमार्जन गर्न प्रस्ताव आएको छ । विधान संशोधन मस्यौदा समितिले पार्टीको झण्डा परिमार्जन गर्न प्रस्ताव गरेको हो ।

प्रस्तावमा चारतारे झण्डाको बीचमा रूख चिह्न राख्न सुझाव दिइएको छ । पार्टी स्थापनाकालदेखिको चारतारे झण्डा परिमार्जन र परिष्कृत गर्न भन्दै प्राध्यापक एवं झापाका कांग्रेस नेता डा.खगेन्द्र पाण्डव अधिकारीले कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा सुझाव पेस गरेका हुन् । उनले केही दिनअघि प्रस्ताव सुझावका रूपमा पेस गरेका थिए ।

डा.अधिकारीले पुरानै झण्डामा रहेको चार ताराको बीचमा सेता भागभित्रै रूखलाई पनि राख्न सुझाएका छन् । रूख र चारतारा भएको छुट्टाछुट्टै झण्डा हुँदा आमनागरिकमा अन्योल देखिने भएकाले निर्वाचनको समयमा चिह्नको द्विविधा नहोस् भन्नका लागि सुझाव दिइएको डा.अधिकारीले बताएका छन् ।

डा.अधिकारी झापा ५ बाट कांग्रेसका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार थिए । डा.अधिकारी प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग पराजित भएका हुन् ।

नेपालका केही राजनीतिक दलसहित विदेशमा पनि पार्टीले एउटै झण्डामा चुनाव चिह्न राख्ने गरेको उदाहरणहरू प्रसस्त छन् ।

अमेरिकाको रिपब्लिकन पार्टीको झण्डामा चुनाव चिह्न हात्ती र डेमोक्रेटिक पार्टीको झण्डामा गधा राखिएको छ । भारतमा भाजपाको झण्डामा कमलको फूल, कांग्रेस आईको झण्डामा हातको पन्जा, समाजवादी पार्टीको झण्डामा साइकल राखिएको छ ।

कांग्रेसको माथिल्लो र तल्लो पाटोमा रातो रङ छ भने बीचमा सेतो भाग छ । सेतो भागमै चार वटा तारा छन् । कांग्रेसले पार्टीको माथिल्लो रातो भागलाई राजनीतिक क्रान्तिको प्रतीक, बीचको सेतोलाई शान्तिको प्रतीक र तल्लो रातो भागलाई सामाजिक, सांस्कृतिक र आर्थिक क्रान्तिको प्रतीकका रूपमा परिभाषित गरेको छ ।

कांग्रेसले चार तारालाई राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र धार्मिक स्वतन्त्रताका सूचकका रूपमा लिँदै आएको छ ।

हालको झण्डाभन्दा हरियो रङको रूखसहित झण्डा बढी बहुरंगी हुने भएकाले थप आकर्षक र चमकदार हुने सुझावमा उल्लेख गरेका छन् ।

Published : Tuesday, 2018 September 25, 12:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया