प्रिय बन्यो तरुण दल, देउवाले गरे सबैका सामू प्रशंसा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय मुलुकमा दण्डहीनता मौलाउँदै गएको भन्दै चिन्ता जनाएका छन् ।

नेपाल तरुण दलको ६५औँ स्थापना दिवसका अवसरमा ललितपुरको सानेपास्थित कांग्रेसको पार्टी मुख्यालयमा शनिबार आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्टहरुका कारण मुलुकमा दण्डहीनताले टाउको उठाएको बताए । उनले देशमा अधिनायकवाद ल्याउने षड्यन्त्र स्वरुप कम्युनिस्टहरुले संविधान र कानून विपरितका क्रियाकलाप गरिरहेको बताए ।

‘कम्युनिस्टहरुको गलत क्रियाकलाप र रबैयाले देशमा दण्डहीनता मौलाउनु थालेको छ’, देउवाले भने, ‘कम्युनिस्ट सरकारको आफ्ना गलत क्रियाकलापलाई रोक्नुपर्छ । होइन भने कांग्रेसले चुप लागेर हेर्दैन । दण्डहीनता रोक्न तरुणहरुले दवाव दिन भूमिका खेल्नुपर्छ ।’

कम्युनिस्टहरुले देशलाई सही रुपमा चलाउन नसकेको देउवाले बताए । ‘अधिनायकवाद ल्याएर देशलाई तहसनहस बनाउने काम भइरहेको छ’, देउवले भने, ‘अब तरुणहरु अगाडि आएर देशलाई बचाउनुपर्छ ।’

कांग्रेसप्रति जनताको अहिले पनि माया उत्तिकै रहको देउवाले बताए । उनले जनतालाई मनमा बसेर कांग्रेसले काम गर्नुपर्ने उल्लेख गरेका छन् ।

सभापति देउवाले कांग्रेसको भातृसंगठनहरुमध्ये पछिल्लो समय तरुण दलले आफूलाई क्रियाशील बनाएकोमा प्रशंसा गरेका थिए । ‘तरुण दलले आफूलाई क्रियाशील बनाएको पाएको छु’, उनले भने, ‘आउने दिनमा पनि तरुण दलको कामलाई अरु भातृसंस्थाहरुले पनि पछ्याउनेछन् ।’

चियापान तथा शुभकाना आदान प्रदान कार्यक्रममा तरुणहरुको उल्लेख्य सहभागिता रहेको थियो । कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, पूर्णबहादुर खड्का, दीपक गिरी, अर्जुन नरसिंह केसी, दिलेन्द्र बडू, नेविसंघका अध्यक्ष नैनसिंह महर सहितका नेताहरुको पनि सहभागिता रहेको थियो ।

Published : Saturday, 2018 October 27, 12:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया