प्रधानमन्त्री ओलीलाई भएको के हो ?

काठमाडौं । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीको छातीमा संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ । ओलीको शरीरमा चिनीको असन्तुलन देखिएको त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा.उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ओलीलाई सोमबार बिहानै महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । ओलीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै आएको प्रा.डा.श्रेष्ठद्वारा सोमबार बिहान दश बजे जारी प्रेस नोटमा उल्लेख छ ।

ओलीको छातीमा संक्रमण देखिएको छ । त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. अरुण सायमीले ओलीको छातीमा समस्या भएका कारण स्वासप्रश्वासमा समस्या भएको जानकारी दिएका छन् ।

अस्वस्थ भएका कारण नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शनिबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा सहभागी भएनन् ।

फोक्सो वा श्वास प्रश्वास नलीमा हुने संक्रमण छातीको संक्रमण मानिन्छ । यसका कारण निमोनिया, ब्रोङ्काइटिससहितका समस्याहरू देखिन सक्छ ।

सबैमा छातीको संक्रमणको जोखिम रहे पनि दम तथा मुटु रोगी, मृगौलामा समस्या भएका, मधुमेह रोगीहरूमा यसको जोखिम बढी हुन्छ । प्रधानमन्त्री ओलीमा पनि मृगौलाको समस्या छ ।

यस्तो अवस्थामा छातीको संक्रमण हुँदा रगत मिसिएको खकार आउनु वा खकार असामान्य रुपमा पहेँलो देखिनु, श्वास प्रश्वास तीव्र हुनु वा स्वाँ स्वाँ हुनु, मुटुको चाल बढी हुनु, छाती दुख्नु, ज्वरो आउनु, खानामा रुचि नहुनु, टाउको दुख्नु, आलस्य हुनु आदि लक्षण देखिने चिकित्सकहरूको भनाइ छ ।

संक्रमण भयो भने खोक्दा बल गर्नु हुँदैन, डब्लुएचओले गरेको खोप लगाउने, छाती घ्यारघ्यार गर्न थाल्यो भने अस्पताल जाने, घरेलु उपचारको भर गरेर नबस्ने, अंग प्रत्यारोपण गरेकाहरू र रोगसँग लड्ने क्षमता कम भएकाहरूले अली बढी ख्याल गर्नुपर्छ, चिकित्सकको निगरानीमा उपचार वा परमर्श लिने, झोलिलो पदार्थ पर्याप्त मात्रामा खाने, आराम गर्ने जस्ता कार्य गर्नुपर्छ ।

Published : Monday, 2018 October 29, 10:05 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया