पूर्व सिडिओ र मन्त्रीका पिएको चर्तिकलाले छक्कै बनायो

काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिव पदबाट सर्वोच्च अदालतको आदेशसँग हटाइएका विष्णुप्रसाद ढकालले कोषको कोटामा पत्नीलाई चीन घुमाउन उडेका छन् ।

कम्युनिस्ट सरकारले ऐन कानून विपरित नियुक्ति गरेपछि परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले ढकाललाई काम नगर्नु/नगराउनु भनेर अन्तरिम आदेश दिइसकेको छ । सो आदेशलाई सर्वोच्चले निरन्तरता दिएको छ ।

तर, ढकालले कम्युनिस्ट सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी, प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेललाई प्रभावमा पारेर कोषभित्र हालिमुहाली गर्दै आएको एक कर्मचारीले बताएका छन् ।

पत्नीलाई लगेर चाइना उडेको घटनाले ढकालले राजनीतिक पहुँच लगाएर कोषभित्र अहिले पनि दादागिरि चलाएका छन् भन्ने खुलासा भएको छ ।

कम्युनिस्ट बनेका ढकालले आर्थिक चलखेल गरेर कोषको सदस्य सचिव कुम्ल्याएपछि प्रधानमन्त्री केपी ओलीसम्म उजुरी पुगेको छ । प्रधानमन्त्री ओली पनि ढकालसँग सन्तुष्ट छैनन् ।

पाल्पा जिल्लाका पूर्वसिडिओ समेत रहेका ढकालले आफा्नी पत्नीलाई साथमा लिएर सोमबार मध्यराति एघार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै चाइना उडेको स्रोतले जनाएको छ । उनी केही दिन उतै रमाउनेछन् ।

चीनले लुम्बिनी विकास कोषलाई त्यहाँका कर्मचारी, सरोकारवाला व्यक्ति लगायतलाई घुमाउनका लागि निम्तो पठाएको थियो । निम्तोलाई कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठीको दवावमा दुरुपयोग भएको खुलासा भएको छ । निम्तो स्वीकार गरेको कोषसँग सम्बन्धै नरहेका ढकाल र उनकी पत्नीलाई किन टोलीमा राखेर लग्यो भनेर लुम्बिनीतिर बबण्डर भएको छ ।

स्रोतका अनुसार ढकाललाई कोषका उपाध्यक्ष त्रिपाठीले काखिच्यापेर अहिले पनि राखेका छन् । नेपाली कांग्रेस निकटका उपाध्यक्ष त्रिपाठी ढकालसँग आफू पनि चाइना उडेका छन् । त्रिपाठीको टोली कोषका लेखा अधिकृत भीमबहादुर बस्नेत पनि छन् ।

कोषका कायम मुकायम सदस्य सचिव सरोज भट्टराईले चीनले पठाएको निम्तोअनुसार उपाध्यक्ष र लेखा अधिकृत सोमबार राति चाइना प्रस्थान गरेको बताए ।

उनले अरु व्यक्तिहरूका बारेमा केही बोल्न चाहेनन् । भट्टराईले भने, ‘अरु कुरा मलाई थाहा छैन । उपाध्यक्ष र लेखा अधिकृत कोषबाट आर्थिक बोझ नहुने गरेर चीन जानु भएको छ । चीनले नै निम्तो पठाएको थियो ।’

चीन जाने सूचीमा कायम मुकायम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीका स्वकीय सचिव (पिए) राजेन्द्र आचार्य पनि थिए । तर, आचार्य बेलायत घुम्न जाने भएपछि चाइना जाने कार्यक्रम रद्द गरेका छन् । कायम मुकायम सदस्य सचिव भट्टराई पनि चाइना गएका छैनन् । उनी पनि जाने बताइएको थियो ।

Published : Tuesday, 2018 October 30, 6:40 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया