कोइराला परिवार फुटाउने दाउमा सिटौला, कांग्रेसविरुद्ध हर्कत देखाए

काठमाडौं, १७ असोज । नेपाली कांग्रेसभित्र अलग गुट बनाएका कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाबीच भेट भएको छ ।

सिटौलाकै कारण कांग्रेसभित्र सहमति हुन नसकेको आरोप लागिरहेका बेला कोइराला परिवारसँग सम्बन्ध सुधारको प्रयास भएको छ । सिटौलाले नै कांग्रेसका नेताहरु मिल्न नदिएको आरोप छ ।

सिटौलाले सुजाताको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सरकारका कामकारबाही र पार्टीको आन्तरिक विषयमा छलफल गरेका हुन् । मंगलबार भएको भेटवार्तामा कोइरालाको स्वास्थ्य अवस्थाका बारेमा मात्र छलफल केन्द्रित भएको थिएन ।

सरकारको गतिविधि र संविधान जारी भएपछि कांग्रेस कहाँ चुक्यो र अब कसरी अगाडि जाने भन्नेमा पनि उनीहरुबीच डेढ घण्टा गम्भीर कुराकानी भएको स्रोतले जनाएको छ ।

दुई नेताबीच आगामी महासमिति बैठक र महाधिवेशन तयारीसहित अब पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्ने विषयमा पनि छलफल भएको थियो । छलफलमा सहभागी कांग्रेस नेता रोमी गौचन थकालीले सभापति शेरबहादुर देउवाका कारण पार्टी कमजोर भएको बताए । उनले पूर्वसंस्थापनका रूपमा सिटौला र सुजातालाई एक ठाउँमा उभिन आग्रह गरेका थिए ।

कांग्रेस नेतृ सुजाता कोइरालाले आफू स्वास्थ्य ठीक भएपछि सक्रिय हुने भन्दै सिटौलासहितका नेतालाई सक्रिय भएर लाग्न सुझाव दिएकी छिन् । पछिल्लो समय कोइराला परिवारका तीन नेताहरू महामन्त्री डा. शशांक कोइराला, नेताद्वय सुजाता कोइराला र डा. शेखर कोइरालाले पनि पारिवारिक भेटघाटलाई बाक्लो बनाउँदै आएका छन् ।

आफूहरू तीनमध्ये एकजना १४औँ महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा उनीहरू छनर । सभापति देउवालाई परास्त गर्न पूर्वसंस्थापन एक ठाउँमा उभिनुपर्नेमा यी नेताहरू पनि एकमत छन् । नेता सिटौला १२औँ महाधिवेशनपछि तत्कालीन सभापति सुशील कोइरालाबाट मनोनीत महामन्त्री हुन् ।

सिटौलाले देउवालाई समर्थन गर्दा तत्कालीन संस्थापन पक्षका नेता रामचन्द्र पौडेल पराजित भएका थिए । देउवाको कार्यशैली विधानसम्मत नभएको भन्दै सिटौला असन्तुष्ट रहँदै आएका छन् ।

सिटौलासँग युवा नेताहरू गगन थापा, प्रदीप पौडेल, भीमसेनदास प्रधान, उमाकान्त चौधरीसहितका नेताहरू रहेका छन् ।
सिटौलाले केन्द्रीय सदस्य अर्जुननरसिंह केसीसँग पनि छलफल गरेका छन् । सिटौलाले केसीलाई आफ्नो गुटमा ल्याउन खोजेका छन् ।

केसीकै पहलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा.रामशरण महतसहितको छलफल भएको थियो । सो छलफलपछि सिटौला सुजातालाई भेट्न उनकै निवास पुगेका हुन् ।

Published : Wednesday, 2018 October 3, 8:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया