सम्वेदनशील विषय हुँदा मात्रै बैठकमा रोकेका हौँः सभामुख महरा

काठमाडौं । सभामुख कृष्णबहादुर महराले सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले संसदीय समितिमा देखाएको गतिविधिका विषयमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

दाङ–काठमाडौं पत्रकार समाजले दशैँ र तिहारको अवसरमा शुक्रबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै महराले सूचना तथा सञ्चारमन्त्रीले संसदीय समितिमा हस्तक्षेप गरेको बारेमा कुनै जानकारी नआएको बताएका हुन् ।

‘सूचना तथा सञ्चारमन्त्रीले संसदीय समितिमा हस्तक्षेप गरेका बारेमा मलाई जानकारी छैन’, उनले भने, ‘समितिको बैठकभित्र सामान्य छलफलको विषयलाई बाहिर अर्कै रुपमा ल्याइएको पनि हुन सक्छ ।’

सूचना तथा सञ्चारमन्त्री बास्कोटाले बिहीबार बसेको संसदको विकास समिति बैठकमा आफू अनुकूलको निर्णय नभएपछि सभापतिलाई हपारेका थिए ।

संसदका समितिहरूका सभापतिहरूले राम्रोसँग काम गर्न नसकेको विषयमा पनि महराले खुलेर बोल्न चाहेन् । ‘भरखरै समितिहरूले पूर्णता पाएका छन्’, उनले भने, ‘सभापतिहरूले काम गर्न थाल्नुभएको छ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ ।’

राज्य व्यवस्था समितिको बैठकमा सभापतिको विषयमा बाहिर आएका समाचारका विषयमा आफू जानकार रहेको सभामुख महराले बताए ।

‘राज्यव्यस्था समितिले पत्रकारहरूलाई बैठकमा बस्न दिएको छ’, उनले भने, ‘गृह र रक्षा मन्त्रालयका केही सम्वेदनशील विषयमा मात्रै पत्रकारहरूलाई बस्न नदिइएको हो । पत्रकारहरूलाई बैठकमा बस्न नदिने भन्ने कुनै नीति छैन ।’

चियापानमा को–को आए ?

सभामुख कृष्णबहादुर महरा, सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमबहादुर श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता युवराज ज्ञवाली, मेटमणि चौधरी, रेखा शर्मा, कोमल ओली, नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, पार्वती डिसी चौधरी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, अधिवक्ता डा.भीमार्जुन आचार्य, भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक मुक्ति आचार्य, गरिवी निवारण कोषका कार्यकारी निर्देशक नकुल केसी, व्यवसायी किरण किशोर घिमिरे, प्रज्ञान न्यौपाने, पवन आचार्य, सामुदायिक रेडियो प्रशारक संघका उपाध्यक्ष अर्जुन गिरी, नेपाल पत्रकार महासंघका सचिव उदय जिएम, नेपाल प्रहरीका एसपी श्याम ज्ञवाली, पूर्वएसपी सुवास चौधरी, दीर्घनारायण श्रेष्ठ, रापती समाजका अध्यक्ष शशि शर्मालगायतका दुई सय बढी दङ्गालीहरूको सहभागिता रहेको थियो ।

Published : Friday, 2018 October 5, 8:08 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया