डिएसपीले संरक्षण गरेको अबैध अड्डामा एसएसपीद्वारा मध्यराति हमला

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंले आफ्नै वृत्तका ईञ्चार्ज रहेका एकजना डिएसपीको अविश्वास गरेर सिधै जुवा खडामा छापामारेको छ ।

काठमाडौंको मुलपानीमा सञ्चालन हुँदै आएको जुवा अखडामा शुक्रबार राति दश बजे महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएका डिएसपी होविन्द्र बोगटीको कमाण्डका सादा पोशाकका प्रहरीले छापामारेको हो ।

प्रहरीबाट बच्न भाग्ने क्रममा चार तलामाथिबाट हामफाल्दा दुईजनाको मृत्यु भएको काठमाडौं प्रहरीका प्रमुख एसएसपी बसन्त लामाले जानकारी दिएका छन् । मृत्यु हुनेमा सरोज घले र सोमलाल तामाङ रहेका छन् ।

महानगरीय प्रहरी वृत बौद्धका प्रमुख डिएसपी श्याम राईको संरक्षणमा सञ्चालन हुँदै आएको उजुरी परेपछि एसएसपी लामाले शुक्रबार राति जुवा अखडामा छापामार्न आदेश दिएका थिए । जुवा अखडामा छापामार्ने कुराको सुईको बौद्धका डिएसपी राईलाई दिइएको थिएन ।

एसएसपी लामाका अनुसार जुवाको अखडाबाट एक महिलासहित २३ जना पक्राउ परेका छन् । तामाङ थरका एक व्यक्तिको घरमा लामो समयदेखि जुवा अखडा चलिरहेको थियो ।

जुवाडेले च्यानल गेटमा लगाएको ताला खोल्न नमानेपछि प्रहरीले ताला फुटाएर भित्र प्रवेश गरेको थियो । जुवाको खालबाट प्रहरीले ४ लाख ५८ हजार नगद र केही थान कौडा बरामद गरेको छ ।

जुवाको खालमा घरभित्र जुवाडेहरूलाई मदिरासहितका सेवा दिइँदै आइएको थियो । जुवा अखडाका बारेमा बौद्ध प्रहरीमा पटक पटक उजुरी परे पनि डिएसपी राईले कुनै पनि कदम उठाएका थिएनन् । स्रोतका अनुसार सो जुवाको अखडाबाट डिएसपी राईले अबैध असुली गर्दै आएका थिए ।

Published : Saturday, 2018 October 6, 8:49 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया