कांग्रेसले गर्‍यो शानदार निर्णय, नेतृत्व अब युवाहरूले कब्जा गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो भातृसंगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेरहद कायम गरेको छ ।

आइतबार मध्यरातिसम्म बसेको कांग्रेस केन्द्रीय कार्यसमितिले नेविसंघमा उमेर हद लागू गरेको हो । उमेर हद लागू गरेसँगै नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले, पूर्वमहामन्त्री मनोजमणि आचार्य सहितका नेताहरूलाई अध्यक्ष बन्ने बाटो बन्द भएको छ ।

विधान र नियमावलीको अन्तिम टुंगो लगाउन सिफारिस गर्दा नेविसंघको नेतृत्वले ३२ वर्षे उमेरहद हटाउन प्रस्ताव गरे पनि पार्टी नेतृत्वले पहिलेकै व्यवस्थाअनुसार ३२ वर्षे उमेरहद कायम नै रहने निर्णय गरेको छ । अब नेविसंघमा ३२ वर्ष कटेका कुनै पनि नेताले महाधिवेशनमा प्रतिस्पर्धा गर्न पाउनेछैनन् ।

नेविसंघको १२औँ महाधिवेशन उमेरहद लगाएरै गर्ने निर्णय गरेको हो । ३२ वर्षे उमेरहद लगाउने वा नलगाउने भन्नेमा नेताहरूबीच मत बाझिएको छ ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्षले नेविसंघको विधानमा पर्याप्त छलफल गर्न माग गरेका थिए । रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले विधानमा पर्याप्त छलफल गर्न नपाएको गुनासो गरेका छन् ।

पौडेल, सिटौला, सिंह र केसीले बैठकको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेखेको कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले जानकारी दिए । कांग्रेसभित्र विरोधी समूहका रुपमा चिनिएका यी चार भाईलाई नेविसंघमा उमेर हद लगाउने सभापति देउवाको निर्णयले सबै योजनाहरू भताभुङ्ग बनाइदिएको छ ।

नेविसंघको महाधिवेशनका विषयमा थप निर्णय गर्न असोज २५ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको छ । नेविसंघको १२औँ महाधिवेशन कात्तिक १६ गतेदेखि तोकिएको छ । समयमा विधान नटुंगिँदा तल्लो तहका अधिवेशन प्रभावित भइसकेका छन् ।

३२ वर्षे उमेरहद लगाउन माग गरे पनि आइतबार केन्द्रीय समितिको बैठक बस्नुअघि नेविसंघका महामन्त्री आनन्द त्रिपाठी, प्रवक्ता प्रेम जोशी, सहमहामन्त्री साधना घिमिरेसहितका नेताले उमेरहद कायम गरेर महाधिवेशन गर्न माग गर्दै पार्टीलाई ज्ञापनपत्र बुझाएका थिए ।

Published : Monday, 2018 October 8, 9:14 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया