निर्मला हत्यामा एसपी विष्ट खोरमा जाने पक्का, यी हुन् कारण

काठमाडौं । निर्मला पन्त हत्याकाण्डमा कञ्चनपुर जिल्लाका तत्कालीन एसपी डिल्लीराज बिष्टसहितका प्रहरीले प्रमाण नष्ट गर्न मतियार बनेको मत उच्चस्तरीय छानविन समितिले दिएको छ ।

गृहमन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा समितिका सदस्य एवम् कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले प्रहरी घटनामा मतियार रहेको बताएका छन् ।

सदस्य केसीले भदौ ४ गते जिल्ला प्रहरी कार्यालय बरामदी मुचुल्कामा उल्लेख भएको अमित गोल्ड लेखिएको निलो कट्टु, निलो रंगको भित्र शरीरमा लगाउने गञ्जी र खैरो रंगको जिन्स हाफपाइन्ट केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशामा परीक्षणका लागि पठाएको भन्दै तत्कालीन एसपी विष्टले भदौ १० गते पुनः नमूना सच्याउन पत्र लेखेकोमा मतियारका रूपमा मुद्दा चलाउनुपर्ने राय दिएका छन् ।

बलात्कारपछि हत्या घटनासँग सम्बन्धित प्रमाण हुन सक्ने निर्मला पन्तका लुगा र भित्रीवस्त्र पानीमा चोपलेको, गुप्ताङ र तिघ्रा पखालिएको तथा पछि ती लुगा नै लोप भएको भन्दै त्यसमा संलग्न प्रहरीलाई समेत मतियार मान्नुपर्ने प्रतिवेदनमा भनिएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक जगदीश भट्ट र अनुसन्धान अधिकृत ऐकेन्द्रबहादुर खड्काको टोली घटनास्थलमा पुगेको थियो । सेटी र खड्का दुबैले शवमा हिलो र घाँस भएकाले वस्त्र पानीमा पखालेर शव छोपिएको बयान दिएका छन् । प्रहरी जवान चाँदनी साउँदले शव पखाल्ने र कपडा पखाल्ने काम गरेको भिडियोमा नै देखिएको छ । प्रतिवेदनले पनि सोही कुरा उल्लेख गरेको छ ।

निर्मला पन्तका बुवा यज्ञराज पन्त भारतमै हुँदाकै बखत प्रहरीले सनाखत मुचुल्कामा बाबुको नाममा सही छाप गरेको देखिएको भन्दै प्रहरी मतियार भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीले अनिता बमका लागि विद्या पन्तको नोटकपी फोटोकपी गरेर लिएर गएकोबाट पनि मतियार प्रमाणित हुने सदस्य केसीको राय छ ।

छानबिन प्रतिवेदनमा अनिता बम घटनाको भोलिपल्ट ट्युसन पढ्न नगएको र साउन १० गतेको ट्युसन पढेको नोटकपी फोटोकपी गरेर लिएर गएको बयान विद्या पन्तले दिएकी छिन् । घटनास्थल नजिकै फेला परेको साइकलका विषयमा वडा प्रहरी कार्यालय इञ्चार्ज जगदीश भट्ट गम्भीर नभएको तथा भट्टका भतिजाको घरमा बस्ने गोपाल चौधरीले साइकल फेला परेको सन्दर्भमा फरक–फरक बयान दिएकोबाट पनि भट्ट मतियार भएको समितिका सदस्य केसीले उल्लेख गरेका छन् ।

घटनास्थलको जाँच मुचुल्कामा निर्मलाको नोट कापी पानीमा रहेको ब्यहोरा उल्लेख रहेको भन्दै प्रतिवेदनले जेल पेनले लेखेको कापीको अक्षर नष्ट नभएको र कापी भिजेको नदेखिएकाले प्रहरी घटनामा मतियार रहेको छानविन प्रतिवेदनमा उल्लेख छ ।

प्रहरीलाई मानसिक सन्तुलन ठीक नभएका दिलिपसिंह विष्टलाई चरम यातना दिएर अपराध स्वीकार गर्न लगाएकोमा समेत झुठ्ठा प्रमाण बनाएको भन्दै कारबाही हुनुपर्ने राय प्रतिवेदनमा दिइएको छ ।

दिलिपसिंह विष्टलाई चरम यातना दिई अपराध स्वीकार गर्न लगाएकोमा एसपी विष्टलाई कम्तिमा पाँच वर्ष जेल सजाय हुने गरी मुद्दा चलाउनु पर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ । दिलिप सिंह विष्ट छुटेका छन् ।

Published : Monday, 2018 October 8, 4:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया