कांग्रेसको बोल्ड निर्णयले कम्युनिस्ट सरकारलाई तनाव

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजना चीनलाई दिने कम्युनिस्ट सरकारको विरोध गर्दै स्वदेशी पुँजीमा बनाउन आग्रह गरेको छ ।

सोमबार जारी कांग्रेसको विज्ञप्तिमा बुढीगण्डकी आयोजना अपारदर्शी रुपमा चाइना गेजुवा ग्रुप अफ कम्पनीलाई दिएको भन्दै कम्युनिस्ट सरकारको निर्णय आपत्तिजनक रहेको जनाएको हो ।

‘नेपाली जनताको लगानी सहभागिताको प्रक्रियासमेत आरम्भ भई अर्बौं रुपैयाँ संकलन भइसकेका बेला हठात् गेजुवा कम्पनीलाई सुम्पने निर्णय आउनुलाई कांग्रेसले अपारदर्शी, आश्चर्यजनक र आपत्तिजनक रुपमा लिएको छ’, विज्ञप्तिमा भनिएको छ ।

कुनै विधि प्रक्रिया नपुर्‍याई विना प्रतिस्पर्धा गलत मनसायले गेजुवालाई दिइएको भन्दै कांग्रेसले यो कदम राष्ट्रहित विपरीत भएको बताएको छ ।

‘कुनै पनि परियोजना निर्माण कसैलाई पनि जिम्मा लगाउन त्यस सम्बन्धी स्थापित विधि एवं प्रक्रिया हुन्छन् र छन् । कुनै प्रक्रिया नअपनाई विना प्रतिस्पर्धा एकाएक नयाँ निर्णयमा गलत मनसाय साथ पुगी हामी आफैले बनाउन सक्ने परियोजना अरुलाई सुम्पिनु सरकारको राष्ट्रहित विपरीतको कदम हो भन्ने हाम्रो ठहर छ’, कांग्रेसले भनेको छ ।

सरकारको निर्णयले बुढीगण्डकी निर्माणको भविष्यलाई अनिश्चित बनाएको भन्दै कांग्रेसले विगतमा अध्ययन समितिले गरेको प्रतिवेदनको आधारमा स्वदेशी पुँजीमै बनाउन माग गरेको छ ।

‘स्वदेशी पूँजीमै निर्माण गर्न सक्ने गरी अध्ययन समितिले दिएको विगतको प्रतिवेदनका आधारमा नै परियोजना अघि बढाइनुपर्छ भन्ने नेपाली कांग्रेसको माग रहेको छ’, निर्णयमा भनिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले बुढीगण्डकी आयोजना स्वदेशी पुँजीमै बनाउने विषयमा अध्ययन गर्न योजना आयोगका तत्कालिन उपाध्यक्ष स्वर्णिम वाग्लेको नेतृत्वमा एक समिति बनाएको थियो ।

समितिले सरकारले मुआब्जा र पुनर्वासका लागि आवश्यक रकम अनुदान दिने र स्वदेशका विभिन्न निकायको रकममा आयोजना बनाउन सकिने सुझाव दिएको थियो ।

कांग्रेसले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थल बाराको निजगढमा जंगलको रुख तत्काल नकाट्न आग्रह गरेको छ । विमानस्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाको रुख काट्न लागिएको भन्दै कांग्रेसले यसमा आफूहरूको विमति रहेको बताएको छ ।

‘विमान स्थलका लागि आवश्यक पर्ने जग्गा भन्दा बढी जग्गाका रुख काट्ने प्रस्तावप्रति नेपाली कांग्रेसको गम्भीर विमती छ । आवश्यक पर्ने जग्गा, उत्पन्न विवाद प्रकरण, लगानी सुनिश्चितता तथा निर्माणको मोडालिटीका बारेमा राष्ट्रिय रुपमा गम्भीर छलफल गरेर निर्णयमा पुग्न, यसलाई विवादित बनाउनबाट रोक्न र समयमा नै निर्माण सम्पन्न गर्ने गरी गति बढाउन नेपाली कांग्रेस सरकारलाई अपील गर्दछ’, कांग्रेसको निर्णयमा भनिएको छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा नराख्न पनि सरकारलाई आग्रह गरेको छ । भौतिक पूर्वाधार नभएको, वातावरणीय दृष्टिले नमिल्दो ठाउँमा रहेको भन्दै कांग्रेसले राजधानी तोक्ने निर्णयमा पुनर्विचार गर्न माग गरेकोछ ।

‘यस निर्णयले उक्त स्थानमा भौतिक पूर्वाधारको निर्माण गर्न अरबौं लगानी हुन गई विकास निर्माणका सम्पूर्ण कार्य ठप्प हुने अवस्थामा छ । वातावरणीय दृष्टिकोणले वन क्षेत्र नास हुने तथा वन्यजन्तुको आवागमन अवरुद्ध भई पर्यावरणीय समस्या सिर्जना हुने विशेषज्ञहरुको राय छ’, कांग्रेसले भनेको छ, ‘तसर्थ, उक्त राजधानी गोदावरी न।पा। २ र ४ मा बनाउने गरी गरिएको निर्णयमा पुनर्विचार गर्नुपर्दछ ।’

नेपाल वायुसेवा निगमको वाइड वडी जहाज खरिद प्रकरण अपारदर्शी रहेको र ठूलो आर्थिक अनियमितता भएको विवरणहरू सार्वजनिक भएको भन्दै कांग्रेसले यस विषयमा गहिराईपूर्वक छानविन गरी यथार्थ जानकारी गराउन माग गरेको छ ।

Published : Monday, 2018 October 8, 6:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया