वामदेव गौतममाथि कांग्रेसले ह्याट्रिक गर्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नं. ७ बाट प्रतिनिधि सभामा उम्मेदवार बन्ने विपक्षी दल नेपाली कांग्रेसबाट भन्दा पनि आफ्नै दलबाट ठूलो अड्चनको सामना गर्नुपर्ने भएको छ ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को उक्साहटमा सांसद बनेर प्रधानमन्त्री बन्ने सपना देखेका गौतमलाई पूर्वएमालेबाटै अबरोध हुने पक्का छ । गौतमलाई प्रतितिधि सभामा ल्याउन प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष खड्गप्रसाद ओली र पूर्वएमालेको पृष्ठभूमि भएका नेताहरूले रुचाएका छैनन् ।

तत्कालीन नेकपा (एमाले)बाट दुई पटकसम्म विजयी भएका रामवीर मानन्धरले गौतमका लागि क्षेत्र नं. ७ छाड्ने भएपछि राजनीतिमा नयाँ तरंग भएको छ ।

काठमाडौं क्षेत्र नं. ७ पूर्वएमालेको गढ नै मानिन्छ । यो क्षेत्रमा कांग्रेस कमजोर थियो । कमजोर भएकै कारण प्रतिनिधि सभाको गत निर्वाचनमा कांग्रेसले राप्रपालाई छाडिदिएको थियो ।

कांग्रेसले छाडेपछि मानन्धरलाई जित्न झन् सजिलो भयो । तर, कांग्रेसले सधै त्यो क्षेत्र छाड्ने छैन । किन भने समय एकनासको हुँदैन । मानन्धरलाई त्यो क्षेत्रका जनताले मतदान गरे पनि गौतमलाई पनि मतदान गर्छन् भन्ने कुनै ज्ञारेन्टी छैन । गौतमका दिनदशा पनि बिग्रिएको हुन सक्छ ।

यो क्षेत्रबाट नेकपाका नेता गौतम उम्मेदवार बने भने कांग्रेसले सजिलै नछाड्ने संकेत गरिसकेको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहका सहयोगी यूपी लामिछानेले काठमाडौं क्षेत्र नं. ७ मा पहिला संगठन कमजोर भए पनि अहिले सुधार गरेको दाबी गरे । ‘पहिला हामी काठमाडौं क्षेत्र नं। ७ मा कमजोर थियौँ’, लामिछानेले भने, ‘अहिले संगठन राम्रो बनाएका छौँ ।’

काठमाडौं क्षेत्र नं. ७ मा कांग्रेसका नेता प्रकाशमान सिंह, सांसद भीमसेनदास प्रधान, जिल्ला सभापति सवुज बानियाँको घर पर्छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि ‘वामदेव गौतम जहाँबाट उम्मेदवार बनेपनि कांग्रेसले हराइदिने’ सार्वजनिक रुपमा चेतावनी दिइसकेका छन् ।

सांसद मानन्धरले गौतमलाई सांसद बनाउन राजीनामा दिए भने त्यसको नकारात्मक प्रभाव पर्न सक्ने पूर्वएमालेका नेताहरूको भनाइ छ । त्यस्तो अवस्थामा उप–निर्वाचनका बेला गौतमको पक्ष माहोल नजान पनि सक्छ ।

नेता गौतम आफ्नै गृहजिल्ला बर्दियामा नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका पूर्वमन्त्री सञ्जयकुमार गौतमसँग पराजित भएका थिए । गौतमले आफूलाई हराउन पार्टीकै नेताहरूले भूमिका खेलेको भन्दै पार्टी मुख्यालयमा उजुरी समेत दिएका छन् । उपनिर्वाचनका बेला गौतमलाई पार्टीका केही नेताहरूको असहयोग नहोला भन्न सकिँदैन ।

यस्तो अवस्थामा गौतमलाई काठमाडौं क्षेत्र नं. ७ पनि उपयुक्त नहुन सक्छ । नेता गौतमलाई राष्ट्रिय सभामा सांसद बन्न सजिलो छ । तर, गौतमले राष्ट्रिय सभामा भन्दा पनि प्रतिनिधि सभालाई तोकका छन् ।

राष्ट्रिय सभाको सांसद प्रधानमन्त्रीको उम्मेदवार बन्न पाउँदैन । प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रतिनिधि सभाकै सांसद बन्नुपर्छ । सोही कारणले पनि गौतमले प्रतिनिधि सभा ताकेको नेकपाका एक नेताले बताए ।

स्रोतका अनुसार नेकपाका दोस्रो तहका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री बनाउने आश्वासन दिएकै कारण गौतम प्रतिनिधि सभामा आउन ठूलो जोडबल गरिरहेका छन् । गौतम प्रतिनिधि सभामा आउनेवित्तिकै वर्तमान सरकारलाई पाटीभित्रैबाट समस्या आउने धेरै नेताहरूको बनाइ रहेको एक नेताले बताए ।

डोल्पा र बाँकेबाट निर्वाचित सांसदहरूलाई राजीनामा गराउन असफल भएका गौतमले मानन्धरलाई राजीनामा गराउन कन्भिन्स गरेको स्रोतको भनाई छ ।

नेकपाका सांसद मानन्धरले गौतमका लागि काठमाडौं क्षेत्र नं. ७ छाड्न तयार भएको पत्र ‘प्रचण्ड’ले सोमबारको सचिवालय बैठकमा प्रस्तुत गरेका थिए ।

गौतमले मानन्धरलाई राष्ट्रिय सभामा मनोनीत गर्नुका साथै मन्त्री बनाउने आश्वासन दिएको उच्च स्रोतले जनाएको छ । सांसद मानन्धर बालाजुस्थित अष्टनारायण चलचित्र मन्दिरका मालिकसमेत हुन् ।

मानन्धरले तत्कालीन महिला बालबालिका तथा समाज कल्याणमन्त्री एवम् राप्रपा नेता विक्रमबहादुर थापालाई ८ हजार २३ मत अन्तरले पराजित गर्दै प्रतिनिधि सभाको सांसदमा निर्वाचित भएका थिए । मानन्धरले १८ हजार १ सय २ तथा थापाले १० हजार ७९ मत पाएका थिए ।

मानन्धरले यसअघि २०७० सालमा सम्पन्न दास्रो संविधानसभा निर्वाचनमा तत्कालीन माओवादी नेत्री हिसिला यमीलाई पराजित गरेका थिए ।

Published : Tuesday, 2018 October 9, 12:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया