सबैले प्रशंसा गरेको नेविसंघको ३२ वर्षे उमेर हद हटाउन दवाव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल विद्यार्थी संघ(नेविसंघ)मा ३२ वर्षे उमेर हद लागू गर्ने निर्णय गराएको विरोधमा अलग भेला बोलाएका छन् ।

सभापति शेरबहादुर देउवा समूहले विधि, प्रक्रिया मिचेर नेविसंघमा ३२ वर्षे उमेर हद तोक्ने निर्णय गरेको भन्दै पौडेल समूहले काठमाडौंमा सोमबार विरोधमा गोप्य भेला गरेको हो ।

वरिष्ठ नेता पौडेल, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र नेता अर्जुननरसिंह केसीले सहमहामन्त्री डा.प्रकाशशरण महतले आफ्नो गुटलाई फाइदा पुग्ने खालको छुट्टै विधान मस्यौदा बैठकमा पेश गरी बिना छलफल पास गरेको आरोप लगाएका छन् ।

नेविसंघको ३२ वर्षे उमेर हद हटाउन असोज २५ गतेको केन्द्रीय समिति बैठकमा पौडेल समूहले दवाव दिने सहमति भेलाबाट गरेको छ । पौडेलको निवास बोहराटारमा भएको भेलामा पूर्वमहामन्त्रीद्वय सिंह र सिटौला, केन्द्रीय सदस्य नवीन्द्रराज जोशीसहित करिब १५ जना केन्द्रीय सदस्य सहभागी थिए ।

सभापति देउवा पक्षले नेविसंघको ११औं महाधिवेशनकै बेला १२औं महाधिवेशनदेखि ३२ वर्षे उमेर हद लाग्ने विधानमै उल्लेख भएकोले सो व्यवस्था कायम राखिएको र छुट्टै मस्यौदा पेश नगरेको जनाएको छ ।

पौडेल, सिंह, सिटौला र केसी समूहले नेविसंघको ३२ वर्षे उमेर हद हटाउन दवाव दिन यो भेला गरेका हुन् । उनीहरूलाई उमेर हद चित्त बुझेको छैन ।

Published : Tuesday, 2018 October 9, 1:23 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया